कपिलवस्तुको विजयनगरमा सरकारी सवारीको चरम दुरुपयोग: नियम मिचेर पारिवारिक यात्रामा प्रयोग


कपिलवस्तु, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका र आसपासका क्षेत्रमा सरकारी लगानी र जनताको करबाट खरिद गरिएका सरकारी सवारी साधनहरूको व्यापक दुरुपयोग भइरहेको पाइएको छ। कार्यालयको आधिकारिक काम र सार्वजनिक सेवाका लागि मात्र प्रयोग गरिनुपर्ने सरकारी नम्बर प्लेटका गाडी तथा मोटरसाइकलहरू पछिल्लो समय घरायसी काम र पारिवारिक प्रयोजनका लागि निर्धक्क प्रयोग भइरहेका छन्।
भर्खरै सार्वजनिक भएको एक प्रतिनिधि सरकारी कर्मचारी वा जनप्रतिनिधिका लागि छुट्याइएको लु १ ब २७३६ नम्बरको सरकारी मोटरसाइकललाई घरायसी काम र पारिवारिक यात्रामा प्रयोग गरिएको स्पष्ट देखिन्छ। गुडिरहेको उक्त सरकारी मोटरसाइकलको पछाडि एक महिला राखेर निजी काममा हिँडिरहेको अवस्थामा फेला पारिएको हो।
सार्वजनिक बिदाका दिन वा कार्यालय समयबाहेक अन्य समयमा सरकारी गाडी चलाउन अनिवार्य रूपमा पास (स्वीकृति) लिनुपर्ने कानुनी प्रावधान छ। तर, विजयनगर क्षेत्रमा नियमको धज्जी उडाउँदै सरकारी सम्पत्तिलाई निजी सम्पत्ति सरह व्यक्तिगत र पारिवारिक काममा प्रयोग गर्ने क्रम बढ्दो छ। स्थानीयको आक्रोश र प्रशासनको मौनता सरकारी सवारी साधनको यसरी भइरहेको चरम दुरुपयोगप्रति स्थानीय नागरिकहरूले कडा आपत्ति जनाएका छन्।
“जनताले तिरेको करबाट गुड्ने गाडीहरू कर्मचारी र नेताका परिवार घुमाउन प्रयोग हुनु दुःखद हो,” एक स्थानीयले गुनासो गरे। नियमन गर्ने निकाय र स्थानीय प्रशासनले यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही नगर्दा दुरुपयोग गर्नेहरूको मनोबल झन् बढेको देखिन्छ। सरकारी सवारी साधनको दुरुपयोग रोक्न र दोषीमाथि तत्काल कानुनी कारबाही अगाडि बढाउन स्थानीयबासीले माग गरेका छन्






















