प्रबास

इजरायल झनै आक्रामक, लेबनानमा १६ र गाँजामा चार बालबालिका सहित १० मारिए

एजेन्सी
२०८३ जेष्ठ १४ | मध्यान्ह ०६:०२ बजे

काठमाडौँ । इजरायलले दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएको छ । लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिणी क्षेत्रका बासिन्दालाई ठुलो मात्रामा विस्थापित हुन आदेश दिएको छ ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीका अनुसार बिहीबार बिहान सैडन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका छ जनाको इजरायली ड्रोन आक्रमणमा मृत्यु भएको हो । उक्त परिवार दक्षिणी क्षेत्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा उनीहरू लक्षित बनेका थिए ।

इजरायलले पछिल्ला दिनहरूमा दक्षिणी लेबनानभर बमबारी विस्तार गरेको छ । आवासीय क्षेत्र, सडक तथा नागरिक पूर्वाधारहरूमा लगातार हवाई आक्रमण भइरहेको बताइएको छ । लेबनानी सेनाले नाबातिएह क्षेत्रमा भएको इजरायली आक्रमणमा आफ्ना एक सैनिक मारिएको पुष्टि गरेको छ । पछिल्ला केही दिनयता दक्षिणी लेबनान र पश्चिमी बेका उपत्यकामा पनि सैनिकहरू लक्षित आक्रमणमा परिरहेका छन् ।

इजरायलले टायरसहित दक्षिणका धेरै भाग खाली गर्न आदेश जारी गरेको छ । सामाजिक सञ्जालमार्फत चिन्हित भवनहरूको सूची सार्वजनिक गर्दै बासिन्दालाई तत्काल जाह्रानी नदीभन्दा उत्तरतर्फ जान भनिएको छ । यो क्षेत्र लेबनान–इजरायल सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।

विस्थापन आदेशपछि हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् । टायर शहरका धेरै क्षेत्र खाली भइसकेका छन् । स्थानीय बासिन्दाहरू निरन्तर बमबारीका कारण त्रसित अवस्थामा रहेको बताइएको छ ।

टायरबाट रिपोर्ट गर्दै पत्रकार ओबैदा हिट्टोले मध्यरातदेखि शहर र वरपरका क्षेत्रमा एक दर्जनभन्दा बढी आक्रमण भएको बताएका छन् । उनका अनुसार अधिकांश मानिस शहर छोडिसकेकाले टायर अहिले लगभग सुनसान बनेको छ ।

बुधबार राति इजरायली हवाई आक्रमणले टायरस्थित एक भवन र क्याफेमा आगलागी भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषभित्र घाइते तथा मृतक खोज्ने काम जारी राखेका छन् ।इजरायली सेनाले आफूले हिजबुल्लाहको ‘पूर्वाधार’ लक्षित गरेको दाबी गरे पनि आक्रमणहरू बारम्बार नागरिक बस्ती र घना आबादी भएका क्षेत्रमा भइरहेको छ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिले इजरायलको व्यापक विस्थापन आदेश र शहरी केन्द्रहरूमा जारी आक्रमणले नागरिकहरूलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएको छ । सङ्गठनले यसले मानवीय सङ्कटलाई अझ गहिरो बनाएको जनाएको छ ।

बेरुतबाट रिपोर्ट गर्दै अल जजिराकी संवाददाता जेइना खोद्रले अमेरिकी मध्यस्थतामा गत महिना लागू भएको युद्धविराम प्रभावहीन बनेको बताइन्। उनका अनुसार कागजमा मात्र सीमित रहेको युद्धविरामले हिंसा रोक्न सकेको छैन। मार्चको सुरुदेखि सुरु भएको पछिल्लो द्वन्द्वयताकै सबैभन्दा भीषण बमबारी पछिल्ला तीन–चार दिनमा देखिएको उनले बताइन्।

यसैबिच अमेरिका मध्यस्थ रहेको इजरायल–लेबनान वार्ता बिहीबार पुनः सुरु हुने तयारी भइरहेको छ । प्रारम्भमा प्राविधिक छलफल हुने र जुनको सुरुवातमा व्यापक वार्ता अगाडि बढाइने भनिए पनि पछिल्ला सैन्य कारबाहीले कूटनीतिक प्रयासमाथि नै प्रश्न उठाएको छ।

स्थानीय बासिन्दाहरूले लेबनानी सरकारले वार्तामा अझ कडा अडान लिनुपर्ने माग गरिरहेका छन् । तर वर्तमान परिस्थितिमा त्यसको सम्भावना कम देखिएको बताइएको छ ।

गाजामा इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु

इजरायलले उत्तरी गाजामा गरेको हवाई आक्रमणमा चार बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार गाजा सिटीस्थित एक आवासीय भवनलाई लक्षित गरी बुधबार राति गरिएको आक्रमणमा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

युद्धविराम लागू भएको दाबी गरिए पनि इजरायलले गाजामा लगभग दैनिकजसो आक्रमण जारी राखेको छ । पछिल्लो आक्रमणले गाजावासीहरूमा थप त्रास फैलाएको छ । गाजा सिटीबाट रिपोर्ट गर्दै अल जजिराकी संवाददाता हिन्द खोउदारीले आक्रमणको बेला नजिकैको पार्कमा केही बालबालिका खेलिरहेका बताइन् । उनका अनुसार निरन्तर बमबारीको डरले धेरै अभिभावक आफ्ना बालबालिकासहित घर वा अस्थायी पालबाहिर निस्कनसमेत डराइरहेका छन्।

यो आक्रमण हमासको सैन्य शाखाका प्रमुख मोहम्मद ओदेहको अन्त्येष्टि सम्पन्न भएको केही घण्टापछि भएको हो । ओदेह मंगलबार गाजा सिटीमा भएको इजरायली आक्रमणमा मारिएका थिए । उक्त आक्रमणमा उनकी पत्नी र छोरा पनि मारिएको बताइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ओदेह अक्टोबर ७, २०२३ मा भएको हमास आक्रमणका बेला संगठनको गुप्तचर प्रमुख रहेको बताएका छन् । उनका अनुसार केही दिनअघि इजरायलले पूर्व सैन्य प्रमुख इज्ज अल–दिन अल–हद्दादलाई मारेपछि ओदेहलाई हमासको सैन्य शाखाको नेतृत्व दिइएको थियो ।

ओदेहका आफन्त अबु अल–अब्द ओदेहले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै गाजाको अवस्था अत्यन्त भयावह रहेको बताए । उनले युद्ध रोकिएको भन्ने दाबीलाई ‘झुट र भ्रम’ भन्दै गाजावासीहरूको जीवनमा कुनै सुधार नआएको बताए ।

स्थानीय अधिकारीहरूका अनुसार गत अक्टोबरदेखि लागू भएको भनिएको युद्धविरामपछि पनि इजरायलले ३ हजारभन्दा बढी उल्लङ्घन गरेको छ । गाजाको सरकारी मिडिया कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार युद्धविराम लागू भएको २२७ दिनमा इजरायलले कुल ३ हजार ५ वटा गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

कार्यालयका अनुसार युद्धविराम सम्झौताअनुसार गाजामा प्रवेश गर्नुपर्ने १ लाख ३५ हजार ६ सय राहत ट्रकमध्ये हालसम्म केवल ४९ हजार ९ सय ७३ ट्रक मात्र प्रवेश गर्न दिइएको छ, जुन करिब ३६ प्रतिशत मात्र हो ।

इजरायल र हमासबीच फेरि पूर्ण युद्ध भड्किन सक्ने चिन्ता पनि बढिरहेको छ । दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्। इजरायलले हमासले हतियार नत्यागेकाले समस्या समाधान नभएको बताएको छ भने हमासले इजरायलले लगातार आक्रमण र सहायता आपूर्तिमा रोक लगाएकाले वार्ता अवरुद्ध भएको जनाएको छ।

कमेन्टहरु