Opens in a new tab

प्रबास

इजरायली आक्रमणमा हमासका वित्त प्रमुख मोहम्मद अबु अलवान मारिए

एजेन्सी
२०८३ अशोज ७ | मध्यान्ह ०६:०६ बजे

तेल अभिभ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल कात्जले इजरायल रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सी (आईएसए) को संयुक्त प्रयासमा उक्त आक्रमण गरिएको स्पष्ट पारेका हुन्।

वक्तव्यमा भनिएको छ, ‘आईडीएफले खान युनिसमा हमास आतङ्ककारी सङ्गठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको छ। प्रधानमन्त्री र रक्षा मन्त्रीले यो सटीक कारबाहीका लागि सेना र सुरक्षा निकायको प्रशंसा गरेका छन्।’

इजरायली नेतृत्वले गाजामा हमासको अस्तित्व समाप्त नभएसम्म उसैको नेतृत्व र वित्तीय सञ्जालविरुद्धको कारबाही निरन्तर जारी रहने चेतावनी दिएको छ। नेतान्याहु र कात्जले हमासका कमान्डरहरूलाई खोजेर सिध्याउने, उनीहरूको लगानीका स्रोतमा प्रहार गर्ने र आतङ्ककारी संरचना नष्ट गर्ने बताउँदै हमासलाई पुनः शक्ति सञ्चय गर्न नदिने स्पष्ट पारेका छन्।

गत महिना नेतान्याहुले गाजा क्षेत्रबाट ड्रोन, बेलुन र चङ्गा प्रहार गर्ने कार्य तत्काल नरोकिए लक्षित आक्रमण थप तीव्र पारिने चेतावनी दिएका थिए। सोही विषयमा नेतान्याहु र रक्षा मन्त्री कात्जले सेनाध्यक्ष लेफ्टिनेन्ट जनरल इयाल जमिर तथा राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखसहित वरिष्ठ सैन्य अधिकारीहरूसँग सुरक्षा स्थितिबारे समीक्षा बैठकसमेत गरेका थिए। इजरायलले आक्रमण नरोकिए प्रक्षेपणस्थलका रूपमा प्रयोग भएका क्षेत्रबाट नागरिकलाई अन्यत्र सारिने र अक्टोबर ७ अघिको अवस्थामा फर्कन नसकिने स्पष्ट पारेको छ।

अर्कातर्फ, हमासले भने साना बालबालिकाले उडाउने चङ्गालाई बहाना बनाएर इजरायलले गाजामा आक्रमण बढाउन खोजेको आरोप लगाएको छ। हमासका प्रवक्ता हाजेम कासिमले इजरायलको यो कदम बालबालिकालाई धम्क्याउने नियतबाट प्रेरित भएको बताएका छन्।

उनले अमेरिका, मध्यस्थकर्ता राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई हस्तक्षेप गरी गाजामा इजरायली आक्रमण रोक्न र युद्धविरामको पालना गराउन आग्रह गरेका छन्।

कमेन्टहरु