बिश्व

स्ट्रेट अफ होर्मुजबाट जहाज आवागमन अझै सीमित

एजेन्सी
२०८३ जेष्ठ १३ | मध्यान्ह ०६:०२ बजे

तेहरान । अमेरिका र इरानबीच तेल तथा अन्य वस्तुको ढुवानी पुनः सुरु गर्न अनुमति दिने समझदारीपत्रबारे वार्ता जारी रहेकै बेला स्ट्रेट अफ होर्मुजबाट हुने जहाज आवागमन अझै निकै सीमित रहेको समुद्री गतिविधि ट्र्याक गर्ने संस्थाहरूले बताएका छन् ।

मंगलबार राति इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो २४ घण्टामा २५ वटा जहाज जलडमरूमध्य पार गरेको दाबी गरेको थियो । तीमध्ये तेल ट्यांकर, कन्टेनर जहाज तथा अन्य व्यावसायिक जहाज रहेका बताइएको छ ।

आईआरजीसीले ती जहाजहरू अनुमति लिएर, समन्वयमा र आईआरजीसीको नौसेनाको सुरक्षा संरक्षणमा पार गराइएको जनाएको छ । तर जहाज ट्र्याकिङ सेवा प्रदायकहरूले उक्त संख्याको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । स्ट्रेट पार गर्दा जहाजहरूले प्रायः आफ्नो स्थान देखाउने एआईएस ट्रान्सपोन्डर बन्द गर्ने भएकाले निगरानी कठिन हुने बताइएको छ । उद्योगसम्बद्ध स्रोतहरूका अनुसार मंगलबार दुईवटा तेल ट्यांकर उक्त जलमार्गबाट बाहिरिएका थिए ।

समुद्री गुप्तचर कम्पनी विन्डवार्डले बुधबार सार्वजनिक गरेको विवरणमा मे २६ मा १२ वटा जहाजले स्ट्रेट पार गरेको जनाएको छ । तीमध्ये सात वटा भित्रिएका र पाँच वटा बाहिरिएका थिए । कम्पनीका अनुसार पाँच वटा जहाजले एआईएस संकेत बन्द गरेर यात्रा गरेका थिए ।

स्ट्रेट पार गर्ने जहाजमध्ये एउटा ‘मिरान’ नामक तेलजन्य सामग्री बोक्ने ट्यांकर पनि रहेको थियो, जसलाई अमेरिकी अर्थ मन्त्रालयले अप्रिलमा प्रतिबन्ध लगाएको थियो । एसएन्डपी ग्लोबल इन्टेलिजेन्सले पछिल्लो एक सातामा संकेत अवरोध विशेष रूपमा बढेको जनाएको छ ।

यसैबीच, व्यापार विश्लेषण कम्पनी केप्लरका विश्लेषकहरूका अनुसार गत सप्ताहन्तमा तीन वटा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेका जहाजहरूले पनि स्ट्रेट पार गरेका थिए । ती जहाजहरूले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट एसियाली गन्तव्यतर्फ ग्यास ढुवानी गरेका थिए ।

यता इरानका एक वरिष्ठ अधिकारीले बुधबारसम्म अमेरिका र इरानबीच स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुला गर्ने विषयमा सहमति नभएको बताएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरीले इरान र ओमान जहाजहरूलाई स्ट्रेट अफ होर्मुज पार गराउने नयाँ प्रक्रिया तयार गर्ने वार्तामा रहेका बताएका छन् ।

कमेन्टहरु