जर्मन उग्रवादी समूहकी पूर्व सदस्यलाई सशस्त्र डकैतीमा १३ वर्ष जेल


बर्लिन । जर्मनीको उग्रवादी समूह रेड आर्मी फ्याक्शन (आरएएफ) की पूर्वसदस्य डेनिएला क्लेट्टेलाई सन् १९९९ देखि २०१६ सम्म भएका सशस्त्र डकैतीका घटनामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजाय सुनाइएको छ ।
६७ वर्षीया क्लेट्टे तीन दशकभन्दा बढी समय फरार रहेपछि सन् २०२४ मा बर्लिनस्थित एक फ्ल्याटबाट पक्राउ परेकी थिइन् । त्यसपछि उनीमाथि मुद्दा चलाइएको थियो । उनी पक्षका वकिलले सफाइको माग गरे पनि लोअर स्याक्सोनी राज्यको भेर्डेन अदालतले उनलाई गम्भीर डकैती, हतियार कानुन उल्लङ्घन तथा अन्य अपराधमा दोषी ठहर गरेको थियो ।
मुद्दा मुख्यतः उत्तरी र पश्चिमी जर्मनीमा भएका आठ वटा डकैती घटनामा केन्द्रित थियो । पहिलो घटना जुलाई १९९९ मा डुइसबर्ग सहरमा भएको थियो, जहाँ मुख ढाकेका आक्रमणकारीहरूले नगद बोक्ने गाडीलाई ठक्कर दिएर रोक्दै सुरक्षा गार्डहरूलाई बन्दुक र ग्रेनेड लञ्चर देखाएर धम्काएका थिए । त्यसपछि उनीहरूले ठुलो रकम लुटेका थिए । अन्तिम डकैती सन २०१६ को जुन महिनामा ब्राउनश्वाइग नजिकै भएको थियो । उक्त घटनामा डाँकाहरूले करिब १४ लाख युरो लुटेका थिए ।
क्लेट्टे फेब्रुअरी २०२४ मा मात्र पक्राउ परेकी थिइन् । उनी बर्लिनको क्रोइजबेर्ग क्षेत्रमा नक्कली नाम र विदेशी राहदानी प्रयोग गरेर बस्दै आएकी थिइन् । पछि उनलाई धेरैजसो डकैती भएका लोअर स्याक्सोनी लगिएको थियो । त्यहीँ उनी माथि मुद्दा चलाइयो । अभियोजकहरूका अनुसार, दशकौँसम्म फरार रहे पनि क्लेट्टेले आफ्नो वास्तविक पहिचान लुकाउन खासै प्रयास गरेकी थिइनन् ।






















