उत्तर कोरियाद्वारा एआई निर्देशित मिसाइल प्रक्षेपण


प्योङयाङ । उत्तर कोरियाले एआई–निर्देशित मिसाइल र आर्टिलरी रकेट परीक्षण गरेको छ । किम जोङ उनको निरीक्षणमा उत्तर कोरियाले ट्याक्टिकल ब्यालिस्टिक मिसाइल, लामो दूरीका बह–प्रक्षेपण आर्टिलरी रकेट तथा एआई–निर्देशित सटिक क्रुज मिसाइलहरूको परीक्षण गरेको भन्दै त्यहाँको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले बुधबार समाचार छापेको हो ।
यी परीक्षणहरू आधुनिक युद्धका लागि हतियार प्रणालीको क्षमता अभिवृद्धि गर्न गरिएको हो । समाचार अनुसार परीक्षणमा विशेष मिसन वारहेडयुक्त ट्याक्टिकल ब्यालिस्टिक मिसाइलको शक्ति, लामो दूरीका आर्टिलरी रकेटहरूको विश्वसनीयता तथा एआई–निर्देशित क्रुज मिसाइलहरूको सटीकता मूल्याङ्कन गरिएको थियो ।
दक्षिण कोरियाको राजधानी सोल उत्तर र दक्षिण कोरियाबिचको असैनिक क्षेत्रबाट १०० किलोमिटरभन्दा कम दूरीमा पर्छ । उत्तर कोरियाले दक्षिणलाई आफ्नो मुख्य शत्रु भन्दै आएको छ । मिसाइलको अन्तिम चरणको मार्ग निर्देशनमा एआई प्रयोग गरिएको उत्तर कोरियाले पहिलोपटक सार्वजनिक रूपमा उल्लेख गरेको विश्लेषकहरूले भनेका छन् । यस प्रविधिले रियल–टाइममा प्राप्त डाटाको आधारमा लक्ष्य पहिचान गरी मिसाइललाई लक्ष्यतर्फ निर्देशित गर्न सहयोग पुर्याउँछ ।
एआईको प्रयोग लक्ष्य पहिचान र मिसाइल मार्ग निर्देशनमा केन्द्रित भएको असान इन्स्टिच्युट फर पोलिसी स्टडीजका सैन्य विज्ञ याङ युकेले बताए । कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका विश्लेषक होङ मिनका अनुसार उत्तर कोरियाले विद्यमान डिजिटल मार्ग निर्देशन प्रणालीलाई स्वचालित लक्ष्य पहिचान प्रविधिसँग संयोजन गरेको हुन सक्छ, तर यसको वास्तविक स्तर स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन छ ।
उत्तर कोरियाले पछिल्ला वर्षहरूमा लामो दूरीका ब्यालिस्टिक मिसाइल र आणविक क्षमता विस्तारसँगै परम्परागत तथा ट्याक्टिकल हतियार प्रणाली पनि निरन्तर उन्नत गर्दै आएको छ ।























