प्रबास

अस्ट्रेलियामा डिफ्थेरियाका कारण एक जनाको मृत्यु

एजेन्सी
२०८३ जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ । डिफ्थेरियाको प्रकोपका कारण अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट देखिएको छ । देशले लगभग एक दशकपछि पहिलो पटक यो रोगबाट मृत्यु भएको पुष्टि गरेको छ ।अस्ट्रेलियाको नर्दन टेरिटोरीमा प्रकोप तीव्र बनेपछि मार्च महिनामा औपचारिक रूपमा आपतकालीन अवस्था घोषणा गरिएको थियो । यसबाहेक पश्चिमी अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया र क्वीन्सल्याण्डमा पनि संक्रमित बिरामीहरू भेटिएका छन् ।

यस वर्ष मात्रै डिफ्थेरियाका झन्डै २४५ बिरामी फेला परिसकेका छन् । यसलाई सन् १९९१ पछिको सबैभन्दा ठुलो प्रकोप मानिएको छ । विशेष गरी दुर्गम आदिवासी समुदायहरूमा संक्रमण बढी देखिएको बताइएको छ । नर्दन टेरिटोरीका एक पुरुषको अप्रिल महिनामा डार्विनस्थित अस्पतालमा मृत्यु भएको थियो । प्रारम्भिक परीक्षणले स्पष्ट नभए पनि पछिल्ला अटोप्सी रिपोर्टले मृत्युको कारण डिफ्थेरिया भएको पुष्टि गरेको छ । यो सन २०१८ पछि पहिलो मृत्यु हो ।

स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्ताहरूमा खोप अभियान तीव्र बनाएका छन् । नयाँ संक्रमितको संख्या घट्दै गएको सङ्केत दिएका छन्। मार्चदेखि अहिलेसम्म १० हजारभन्दा बढी खोप लगाइएको बताइएको छ । 

नर्दन टेरिटोरी हेल्थका अनुसार रोग नियन्त्रणका लागि खोप नै सबैभन्दा प्रभावकारी उपाय हो । त्यसैले प्रभावित क्षेत्रहरूमा अस्थायी खोप केन्द्रहरू स्थापना गरिएको छ, जहाँ मानिसहरूलाई बूस्टर डोज लिन आग्रह गरिएको छ ।

डिफ्थेरियाका दुई रूप छन्ः श्वासप्रश्वाससम्बन्धी र छालासम्बन्धी । दुवैलाई खोपबाट रोक्न सकिन्छ । बालबालिकालाई सामान्यतया प्रारम्भिक पाँच डोज दिइन्छ र किशोरावस्थामा बूस्टर दिइन्छ । 

श्वासप्रश्वाससम्बन्धी डिफ्थेरियाले घाँटी दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ, जुन गम्भीर अवस्थामा ज्यान जोखिममा पार्न सक्छ । छालासम्बन्धी रूप भने सामान्यतया घाउ वा अल्सरको रूपमा देखिन्छ, तर प्रायः गम्भीर हुँदैन।

अस्ट्रेलियाका मुख्य चिकित्सा अधिकारी माइकल किडले यो अवस्थालाई राष्ट्रिय स्तरको सरुवा रोग घटनाका रूपमा घोषणा गरेका छन् । सरकारले प्रकोप नियन्त्रण र खोप विस्तारका लागि करिब ७२ लाख अस्ट्रेलियन डलरको आपतकालीन प्याकेज पनि घोषणा गरेको छ । 

विशेषज्ञहरूका अनुसार हाल नयाँ संक्रमितको संख्या घट्दै गएको भए पनि खोप दर पर्याप्त नभएका समुदायहरूमा जोखिम अझै कायम छ । त्यसैले स्वास्थ्य अधिकारीहरूले विशेष गरी किशोर किशोरी र वयस्कलाई बूस्टर खोप लिन निरन्तर आग्रह गरिरहेका छन्।

कमेन्टहरु