प्रबास

इरान युद्धको असर : श्रीलङ्काले १ प्रतिशतले बढायो ब्याजदर

एजेन्सी
२०८३ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ। इरानसँग सम्बन्धित युद्ध र त्यसले उत्पन्न गरेको ऊर्जा सङ्कटका कारण दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नो मौद्रिक नीतिमा ठुलो परिवर्तन गरेको छ । देशको केन्द्रीय बैंकले नीतिगत ब्याजदर १०० आधार बिन्दु अर्थात् १ प्रतिशतले पोइन्टले बढाउँदै ८ दशमलव ७५ प्रतिशत पुर्‍याएको छ, जुन पछिल्ला तीन वर्षमा गरिएको सबैभन्दा ठुलो वृद्धि हो ।

सेन्ट्रल बैंक अफ श्रीलङ्का (सीबीएसएल)का अनुसार यो निर्णय बढ्दो मुद्रास्फीति र कमजोर हुँदै गएको मुद्रा विनिमय दरलाई नियन्त्रण गर्न आवश्यक भएको हो । पछिल्ला महिनाहरूमा तेलको मूल्य बढ्नु र विदेशी मुद्रा आपूर्तिमा दबाब आउनु ब्याजदर वृद्धिको मुख्य कारण रहेको बैंकले जनाएको छ ।

विश्लेषकहरूका अनुसार पश्चिम एसियामा जारी अमेरिका–इरान युद्धका कारण विश्व बजारमा ऊर्जा आपूर्ति अस्थिर बनेको छ, जसले श्रीलङ्काजस्ता तेल आयातमा निर्भर देशहरूलाई प्रत्यक्ष असर पारेको छ । 

इन्धनको मूल्य करिब ४० प्रतिशतले बढेको, आपूर्ति नियन्त्रण गर्नुपर्ने अवस्था आएको र हरेक हप्ता बुधबार सार्वजनिक बिदा दिनुपर्ने स्थिति समेत बनेको बताइएको छ ।

केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिंघेले ब्याजदर वृद्धि मुद्रास्फीति नियन्त्रण र विनिमय दर स्थिर बनाउन आवश्यक कदम भएको बताएका छन् । आर्थिक वृद्धि र मुद्रास्फीति दुवैलाई सन्तुलित बाटोमा राख्ने प्रयास भइरहेको पनि उनले उल्लेख गरे ।

यसअघि बजार विश्लेषकहरूले केवल २५ आधार बिन्दुले ब्याजदर बढ्ने अपेक्षा गरेका थिए । तर परिस्थितिको चापका कारण त्योभन्दा धेरै कडा नीति अपनाइएको हो। इरान युद्धका कारण श्रीलङ्काको मुद्रामा पनि ठुलो दबाब परेको छ। मार्चदेखि श्रीलङ्काली रुपैयाँ करिब ८ दशमलव ७ प्रतिशतले कमजोर भएको छ। 

कमेन्टहरु