बिश्व

इरानी नागरिकमाथि अमेरिकाले नयाँ हतियार प्रणाली परीक्षण ग‍रेको इरानको आरोप

एजेन्सी
२०८३ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

तेहरान । इरानले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै युद्धका क्रममा नागरिकलाई लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरिएको दाबी गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यो घटना युद्धको पहिलो दिनमै भएको बताए ।

उनका अनुसार २८ फेब्रुअरीमा भएको अमेरिकी मिसाइल आक्रमण अमेरिका र इजरायलबीचको युद्धको सुरुवाती चरणमै इरानको एक खेलकुद हलमा भएको थियो । उक्त आक्रमणमा २४ जनाको मृत्यु भएको दाबी गरिएको छ, जसमा दुई वर्षकी बालिका पनि रहेको उल्लेख छ ।

इरानी पक्षले यो आक्रमणमा ‘एयरबस्र्ट मिसाइल’ नाम गरेको नयाँ प्रणाली प्रयोग गरिएको आरोप लगाएको छ । उनीहरूको भनाइअनुसार यस प्रकारका मिसाइलहरूले विस्फोटपछि टंगस्टनका उच्च–वेगका साना कणहरू फैलाएर ठूलो क्षेत्रमा क्षति पु‍र्याउँछन् ।

इरानका विदेश मन्त्रालयका प्रवक्ताले यसलाई साधारण गल्ती नभई योजनाबद्ध परीक्षण भएको दाबी गरेका छन् । ‘यो कुनै गल्ती थिएन– यो त इरानी नागरिकहरूमाथि नयाँ हतियार प्रणालीको विनाशकारी शक्ति परीक्षण गर्ने सुनियोजित निर्णय थियो ।’ बघाईले पोष्टमा लेखेका छन् । यस्तो कार्य ‘स्पष्ट र घृणित युद्ध अपराध हो ।’ पोष्टमा अझ अगाडि भनिएको छ ।

कमेन्टहरु