अमेरिकी मिसाइल आक्रमणमा २ वर्षीया बालिका र भलिबल खेलाडीसहित २४ इरानीको मृत्यु भएको खुलासा


काठमाडौँ । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धको सुरुवातमा भएको अमेरिकी मिसाइल आक्रमणमा परी किशोर भलिबल खेलाडी र एक बालिकासहित २४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
प्रवक्ता बाघेईका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला सुरु गरेकै दिन एक खेलकुद हललाई लक्षित गरी ‘अमेरिकी प्रिसिजन स्ट्राइक मिसाइल’ प्रहार गरिएको थियो । इरानको फार्स प्रान्तस्थित लामेर्डको आवासीय क्षेत्रमा भएको उक्त आक्रमणमा खेलकुद हल ध्वस्त भएको उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताएका छन् ।
प्रवक्ता बाघेईले यो घटनालाई ‘हत्या’को संज्ञा दिँदै यसको आदेश दिने र कार्यान्वयन गर्नेहरूलाई कुनै पनि सक्षम कानुनी अदालतमा जबाफदेही बनाइनुपर्ने माग गरेका छन् । ८७ दिनअघि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गर्दा यो दुखद घटना घटेको बाघेईले उल्लेख गरेका छन् ।























