बिश्व

के एलन मस्क बन्न सक्लान् विश्वकै पहिलो ‘ट्रिलिनियर’ ?

एजेन्सी
२०८३ जेष्ठ ११ | मध्यान्ह ०६:०२ बजे

काठमाडाैँ । अमेरिकी प्रविधि अर्बपति इलोन मक्सको अन्तरिक्ष कम्पनी स्पेस–एक्सले सेयर बजारमा प्रवेश गर्ने तयारी गरेसँगै विश्व वित्तीय बजारमा ठुलो चासो र बहस सुरु भएको छ । कम्पनीले अमेरिकाको नास्डाक सेयर बजारमा ‘एसपीसीएक्स’ संकेतअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको हो। विश्लेषकहरूले यसलाई इतिहासकै सबैभन्दा ठुलो आईपीओ बन्न सक्ने बताएका छन् ।

सन् २००२ मा स्थापना भएको स्पेसएक्स रकेट, अन्तरिक्ष यान तथा पुनः प्रयोग गर्न सकिने प्रक्षेपण प्रणाली निर्माणका लागि परिचित छ । कम्पनीले अमेरिकी अन्तरिक्ष निकाय नासा सँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसम्म सामान र मानव ढुवानी गर्दै आएको छ । यसका अतिरिक्त स्टारलिङ्क इन्टरनेट सेवा र कृत्रिम बुद्धिमत्ता प्लेटफर्म एक्सएआईमार्फत पनि कम्पनीले आफ्नो प्रभाव विस्तार गरेको छ ।

आईपीओ भनेको निजी कम्पनीले पहिलोपटक सर्वसाधारणलाई शेयर बिक्री गर्दै सार्वजनिक कम्पनीमा रूपान्तरण हुने प्रक्रिया हो। स्पेसएक्सको आईपीओपछि सर्वसाधारण लगानीकर्ताले पनि कम्पनीको शेयर खरिद–बिक्री गर्न सक्नेछन् । यससँगै उनीहरूले कम्पनीको वार्षिक साधारणसभामा मतदान गर्ने अधिकार पनि पाउनेछन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्पेस–एक्सले करिब ८० अर्ब डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको छ। कम्पनीको बजार मूल्याङ्कन १ दशमलव ७५ ट्रिलिनियरदेखि २ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यदि यो सफल भयो भने मस्क विश्वकै पहिलो ‘ ट्रिलिनियर’ (डलरमा) बन्ने सम्भावना रहेको बताइएको छ ।

यो आईपीओलाई विश्व निजी अन्तरिक्ष उद्योगको भविष्य निर्धारण गर्ने घटनाका रूपमा पनि हेरिएको छ । फ्रान्सेली लगानी बैंक नेटिक्सिसका वरिष्ठ अर्थशास्त्री गेरी एङका अनुसार स्पेस–एक्सको सफलता अन्तरिक्ष अर्थतन्त्रका लागि ऐतिहासिक मोड बन्न सक्छ । पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिले अन्तरिक्ष यात्राको लागत घटाएर नयाँ आपूर्ति शृङ्खला र व्यावसायिक अवसर सिर्जना गर्न सक्ने उनको भनाइ छ।

स्पेस–एक्सको आईपीओले यसअघि भएका चर्चित आईपीओहरूको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ। सन् २०१९ मा ‘साउदी अरामको’ले २५ दशमलव ६ अर्ब डलर उठाउँदै विश्वकै ठुलो आईपीओको कीर्तिमान बनाएको थियो । त्यसपछि उबर, अलिबाबा ग्रुप, र मेटा प्लेटफार्मका आईपीओहरू चर्चामा आएका थिए ।

स्पेस–एक्सको अर्को विशेषता भनेको कम्पनीमाथि मस्कको अत्यधिक नियन्त्रण रहने व्यवस्था हो । आईपीओपछि पनि मस्कसँग कम्पनीको ८५ प्रतिशत मतदान अधिकार रहनेछ। दोहोरो शेयर संरचनाका कारण केही सेयरले सामान्यभन्दा १० गुणा बढी मतदान शक्ति पाउनेछन्।

कम्पनीले अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (एसईसी) मा बुझाएको विवरणमा ‘मानव जीवनलाई बहुग्रहीय बनाउने’ लक्ष्य प्रस्तुत गरिएको छ । मस्कले मंगल ग्रहमा आत्मनिर्भर मानव बस्ती स्थापना गर्ने आफ्नो दीर्घकालीन योजना दोहोर्‍याएका छन् ।

यद्यपि कम्पनी अझै घाटामा छ । स्पेस–एक्सले सन् २०२५ मा १८ दशमलव ६ अर्ब डलर आम्दानी गरेको भए पनि ४ दशमलव ९ अर्ब डलर खुद घाटा व्यहोरेको थियो। चालु वर्षको पहिलो त्रैमासिकमा पनि कम्पनीले ४ दशमलव ३ अर्ब डलर घाटा जनाएको छ। विश्लेषकहरूले कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआई खरिद गर्नु घाटाको प्रमुख कारणमध्ये एक भएको बताएका छन्।

कमेन्टहरु