समाज

सडक असहज : सेवाग्राहीलाई समस्या

रासस
२०८३ जेष्ठ ११ | मध्यान्ह ०६:०२ बजे

मुस्ताङ । जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिए। अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म समाधान निस्कन सकेको छैन।

पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घर अगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए।

सडक सञ्चालन गर्ने तीन विकल्पमध्ये कुनै पनि विकल्प कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरुको पटक/पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ।

कमेन्टहरु