प्रबास

शहरी फोहोर व्यवस्थापनमा चीनको नयाँ योजना सार्वजनिक

रासस
२०८३ जेष्ठ ११ | मध्यान्ह ०४:०२ बजे

काठमाडाैँ । चीनले सन् २०३० सम्म शहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । चीनको आवास तथा शहरी–ग्रामीण विकास मन्त्रालयले सोमबार राजधानी बेइजिङमा आयोजित राष्ट्रिय शहरी फोहोर व्यवस्थापन सम्मेलनका क्रममा उक्त योजना सार्वजनिक गरेको हो।यससँ

गै चीनले मे २५ देखि ३१ सम्म देशव्यापी रूपमा ‘राष्ट्रिय शहरी घरायसी फोहोर वर्गीकरण सचेतना सप्ताह’ पनि सुरु गरेको छ । कार्यक्रममार्फत नागरिकलाई फोहोर छुट्याउने, पुनःप्रयोग गर्ने तथा वातावरणमैत्री जीवनशैली अपनाउने विषयमा जागरूक बनाइने जनाइएको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले आगामी वर्षहरूमा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, पुनर्चक्रणयोग्य सामग्रीको सङ्कलन प्रणाली सुदृढ गर्ने तथा फोहोरको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राख्नेछ । यसले उच्च गुणस्तरको शहरी विकास र ‘सुन्दर चीन’ निर्माण अभियानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनमा पछिल्लो दशकदेखि फोहोर वर्गीकरण अभियानलाई व्यापक रूपमा अघि बढाइएको छ । विभिन्न नमुना परियोजना, परीक्षण कार्यक्रम तथा जनचेतनामूलक अभियानमार्फत देशभर फोहोर व्यवस्थापन प्रणाली विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

हाल चीनका २९७ भन्दा बढी प्रान्तीय स्तरका शहरका लगभग सबै आवासीय क्षेत्रमा फोहोर वर्गीकरण प्रणाली लागू भइसकेको छ । ती शहरहरूले फोहोर व्यवस्थापनसम्बन्धी १९९ वटा स्थानीय नियम तथा १०० भन्दा बढी प्राविधिक मापदण्ड लागू गरिसकेका छन् । यसले शहरी क्षेत्रमा फोहोर छुट्याउने संस्कारलाई संस्थागत बनाएको अधिकारीहरूको भनाइ छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म चीनभर १ हजार १ सय ३७ वटा फोहोर जलाउने केन्द्र सञ्चालनमा रहेका छन् । ती केन्द्रहरूको संयुक्त दैनिक प्रशोधन क्षमता ११ लाख ८० हजार टन पुगेको छ । यसले ठूलो परिमाणमा उत्पादन हुने शहरी फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याइरहेको छ ।

त्यसैगरी बेइजिङ, झेजियाङ र सान्दोङसहित १५ वटा प्रान्तीय क्षेत्रले कच्चा घरायसी फोहोरलाई जमिनमुनि गाड्ने प्रणाली पूर्ण रूपमा अन्त्य गरिसकेका छन् । ती क्षेत्रमा अहिले फोहोरलाई वर्गीकरण, पुनर्चक्रण तथा जलाउने प्रणालीमार्फत व्यवस्थापन गरिँदै आएको छ।

चीनले पछिल्ला वर्षहरूमा वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा हरित विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आएको छ। विज्ञहरूका अनुसार फोहोर पुनर्चक्रण दर वृद्धि गर्ने नयाँ लक्ष्यले वातावरणीय प्रदूषण घटाउनुका साथै स्रोतको पुनःउपयोग बढाउने र दिगो शहरी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्टहरु