तेल किन्न ल्याटिन अमेरिका र अफ्रिकातिर लाग्यो भारत


नयाँ दिल्ली । पश्चिम एशियामा उत्पन्न भूराजनीतिक तनाव र स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधका कारण भारतले आफ्नो कच्चा तेल आपूर्ति रणनीति फेर्न लागेको छ । इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण समुद्री ढुवानी प्रभावित भएपछि भारतका रिफाइनरीहरूले परम्परागत आपूर्ति स्रोतभन्दा बाहिरका क्षेत्रहरूतर्फ ध्यान केन्द्रित गर्न थालेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोष्टर्सले छापेको समाचारअनुसार भारतले अब ल्याटिन अमेरिका र अफ्रिकाका देशहरूबाट तेल आयात बढाउँदै आपूर्ति घाटा पूर्ति गर्न लागेको छ ।
गत महिना निर्यात रोकिएकोले भारतले इराकबाट तेल किनेन । विश्वव्यापी तेलको मूल्य स्थिर गर्न मद्दत गर्न अमेरिकाले अस्थायी छुट दिएपछि भने सात वर्षमा पहिलो पटक इरानी तेल किन्यो । नायरा इनर्जीले आफ्नो ४ लाख ब्यारेल क्षमताको रिफाइनरी मर्मतसम्भारको लागि बन्द गरेकोले भारतले मार्चदेखि रूसबाट आयात लगभग २९ दशमलव ४ प्रतिशतले घटाएर प्रति दिन १६ लाख ब्यारेलमा पुर्याएको छ ।
यद्यपि, मे महिनामा भारतले लगभग दैनिक १९ लाख ब्यारेल रूसी तेल र लगभग ४१ हजार ब्यारेल इराकी तेल प्राप्त गरिरहेको केप्लरको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । समग्रमा, भारतले अप्रिलमा ४५ लाख ७० हजार ब्यारेल दैनिक तेल आयात गरेको छ, जुन मार्चदेखि अपरिवर्तित छ, तर एक वर्ष अघिको तुलनामा यो १५ दशमलव ५ प्रतिशत कम भएको तथ्याङ्कले देखाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)बाट आयात मार्चमा प्रतिदिन २ लाख ३० हजार ६०० ब्यारेलबाट बढेर अप्रिलमा ६ लाख ६९ हजार ,७०० ब्यारेल पुगेको छ भने साउदी अरेबको तेलको खपत लगभग दैनिक ६ लाख १९ हजार ५०० ब्यारेल रहेको तथ्याङ्कले देखाएको छ । यूूएई र साउदी अरब खाडी क्षेत्रका दुई यस्ता तेल उत्पादक हुन् जसले पाइपलाइन मार्फत कच्चा तेल निर्यात गर्छन् । स्टे«ेट अफ होर्मुजलाई बाइबास गरेर निर्यात गर्ने भएकोले यी दुई देशको तेल ढुवानीमा पश्चिम एशियामा जारी तनावको असर कम देखिएको छ ।
पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन ओपेकका सदस्य देशहरूबाट भारतको आयातमा मार्चको लगभग ३० प्रतिशतबाट अप्रिलमा ४५ दशमलव २ प्रतिशतमा पुगेको तथ्याङ्कले देखाएको छ । यूएईले मे महिनामा ओपेकबाट बाहिर निस्कियो । योसँगै यूएई तेल उत्पादन कोटाबाट मुक्त भएको छ ।
यूएईबाट उच्च आयातले भारतको आयातमा पश्चिम एशियाको हिस्सामा आएको कमीको पूर्ति गरेको छ । रूसी तेलको हिस्सा लगभग ५०% बाट लगभग ३५% मा घट्यो । मेमहिनामा भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता रूस नै छ ।
त्यसपछि युएई र साउदी अरेबिया क्रमशः दोस्रो र तेस्रो ठूलो आपूर्तिकर्तँ हुन् । ब्राजिल चौथो ठूलो आपूर्तिकर्ता भयो भने भेनेजुएला पाँचौं स्थानमा रहेको छ । मे महिनामा भेनेजुएला चौथो ठूलो आपूर्तिकर्ता बन्ने बाटोमा रहेको केप्लरको तथ्याङ्कले देखाएको छ ।






















