समाज

आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय सच्याउन चन्द्रपुर नगरपालिकालाई ज्ञापन पत्र

अशोक यादव
२०८३ जेष्ठ ११ | मध्यान्ह ०२:०२ बजे

रौतहट, चन्द्रनिगाहपुर । चन्द्रपुर नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि उत्पन्न अन्योलता हटाउन माग गर्दै शिक्षकहरूले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।सुबलाल भागवत माध्यमिक विद्यालय सन्तपुर (म.) रौतहटका शिक्षकहरूको तर्फबाट नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा संघीय सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा हप्तामा दुई दिन—शनिबार र आइतबार—बिदा दिने व्यवस्था लागू भएको उल्लेख गरिएको छ । तर चन्द्रपुर नगरपालिकाले मिति २०८३/०२/०४ को कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार पनि विद्यालय सञ्चालन गर्ने सूचना जारी गरेपछि विद्यालयहरूमा द्विविधा सिर्जना भएको जनाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार पूरा समय पठनपाठन गर्ने, हिउँदे तथा वर्षे बिदा कटौती गर्ने र त्रैमासिक परीक्षा नियमित पठनपाठनकै समयमा सञ्चालन गर्ने गरी कार्यघण्टा व्यवस्थापनको स्पष्ट परिपत्र जारी गरिसकेको अवस्थामा नगरपालिकाको निर्णय तथ्यपरक नभएको शिक्षकहरूको भनाइ छ ।

ज्ञापन पत्रमा संघीय सरकारको निर्णयभन्दा फरक स्थानीय तहले छुट्टै निर्णय गर्दा शिक्षा प्रणालीमै अन्योल उत्पन्न हुने उल्लेख गरिएको छ । साथै शिक्षक तथा कर्मचारीको संचित विदा प्रमाणिकरण, विद्यार्थीको दिवाखाजा कार्यक्रम सञ्चालनलगायत विषयमा समेत समस्या उत्पन्न भएको जनाइएको छ ।

विद्यालयको २०८३ जेठ ८ गते बसेको स्टाफ बैठकको निर्णयअनुसार नगरपालिकाले आफ्नो निर्णय सच्याई विद्यालय सञ्चालन सम्बन्धी अन्योल तत्काल हटाउन माग गरिएको छ ।

कमेन्टहरु