प्रबास

जापानमा ‘व्यापक एलर्जी संकट’ : १९५० को वनपरियोजना खास कारण

एजेन्सी
२०८३ जेष्ठ १० | मध्यान्ह ०५:०२ बजे

फेब्रुअरीमा सदाबहार वनमाथिबाट धुवाँका लहरजस्तो देखिने दृश्यका भिडियोहरू जापानमा भाइरल भए । तर त्यो धुवाँ थिएन, त्यो परागकण (पोलन) थियो । ती भिडियोहरूले जापानी द्वीपका करोडौँ बासिन्दालाई चेतावनी दिएका थिए, अब मास्क र एलर्जीको औषधि ठीक्क पार्नुहोस् । 

हरेक वसन्त ऋतुमा (जुन जलवायु परिवर्तनका कारण जापानमा झन् चाँडै आउन थालेको छ) देशभरका सहरका सडकमा सबै उमेरका मानिस मास्क लगाएको देखिन्छन् । यसको कारण होः अत्यधिक परागकणका कारण हुने ‘हे फिभर’ । हे फिभर, जसलाई एलर्जिक राइनाइटिस पनि भनिन्छ, अहिले जापानमा राष्ट्रिय संकट बनेको छ । अनुमानित ४३ प्रतिशत जनसंख्यामा यसको मध्यमदेखि गम्भीर लक्षण देखिन थालेको छ । तुलनात्मक रूपमा बेलायतमा यो दर २६ प्रतिशत र अमेरिकामा १२ देखि १८ प्रतिशत मात्र छ । 

यी एलर्जीले असहजता मात्र होइन, निद्राको कमी र ध्यान केन्द्रित गर्न कठिनाइ पनि निम्त्याउँछन् । पीडितहरूमा दम र खाद्य एलर्जी जस्ता अन्य समस्या हुने सम्भावना पनि बढी हुन्छ । जापानमा हे फिभरको चरम मौसममा बिरामी बिदा र उपभोक्ता खर्चमा कमीका कारण दैनिक १.६ अर्ब अमेरिकी डलर बराबरको आर्थिक असर पर्ने अनुमान गरिएको छ । 

जापानमा यस्तो गम्भीर एलर्जी किन भयो त ? यसको कारण खराब स्वास्थ्य, प्रदूषण वा प्राकृतिक वातावरण होइन, बरु दोस्रो विश्वयुद्धपछि ७० वर्षअघि नेताहरूले गरेका निर्णयहरू हुन् । 

बेवास्ता गरिएको संकट 

युद्धका क्रममा तेल र ग्यास अभाव भएपछि जापानले आफ्नो सबैभन्दा प्रशस्त प्राकृतिक स्रोत (वन) लाई घरेलु तथा औद्योगिक इन्धनका रूपमा प्रयोग गर्न थाल्यो । परिणामस्वरूप प्राकृतिक वनहरू व्यापक रूपमा फँडानी भए र टोकियो, ओसाका तथा कोबे जस्ता सहर वरपरका पहाडहरू रूखविहीन बने । 

‘दोस्रो विश्वयुद्धपछि जापानका धेरै पहाडहरू बाँझा बने, जसले विभिन्न क्षेत्रमा विपद् निम्त्यायो,’ जापानको फुकुओकास्थित कियिसु विश्वविद्यालयकी वन अनुसन्धानकर्ता तथा प्राध्यापक नोरिको सातो भन्छिन् । ‘नाङ्गा पहाडहरूले पहिरो र बाढीको जोखिम बढाउँछन् । त्यसैले माटो क्षय रोक्न कर राजस्वबाट ठुलो वृक्षरोपण कार्यक्रम सञ्चालन गरियो ।’ 

छिटो वन पुनर्स्थापनाको उद्देश्यले सरकारले दुई वटा छिटो बढ्ने स्थानीय सदाबहार प्रजाति रोज्यो — जापानी देवदार ‘सुगी’ र जापानी साइप्रस ‘हिनोकी’ । यी रूखले छिट्टै वन विस्तार गर्न र भविष्यमा निर्माणका लागि काठ उपलब्ध गराउन सक्थे । 

आज पनि यी सुगी र हिनोकीका वनहरूले करिब १ करोड हेक्टर क्षेत्र ढाकेका छन्, जुन जापानको कुल भूभागको पाँचौँ हिस्सा हो । 

समस्या के हो भने, सुगी र हिनोकीले अत्यधिक हलुका परागकण उत्पादन गर्छन्, जुन सजिलै सहरसम्म पुग्छ । यिनै परागकण, विशेष गरी एउटै प्रजातिका विशाल वनबाट एकैचोटि निस्कँदा, जापानका अधिकांश मौसमी एलर्जीका मुख्य कारण बनेका छन् । यी रूख ३० वर्षपछि परिपक्व हुँदा अझ धेरै परागकण निकाल्छन्, र अहिले अधिकांश रूख त्यही अवस्थामा पुगेका छन् । 

‘परागकण एलर्जी जापानको राष्ट्रिय स्वास्थ्य समस्या बनेको छ,’ सातो भन्छिन्, ‘यसको समाधान तत्काल आवश्यक छ ।’ 

सन् २०२३ मा जापानले एलर्जीलाई राष्ट्रिय सामाजिक समस्या घोषणा गर्‍यो र केन्द्र सरकारले ३० वर्षभित्र परागकण ५० प्रतिशत घटाउने महत्त्वाकांक्षी योजना ल्यायो । पहिलो चरणमा २०३३ सम्म उच्च परागकण उत्पादन गर्ने सुगी वन क्षेत्र २० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । 

तर जापानको २ प्रतिशतभन्दा बढी भूभाग ढाकेका वनलाई १० वर्षमै परिवर्तन गर्नु विशाल चुनौती हो । केवल रूख काटेर मात्र पुग्दैन; माटोको क्षयिकरण रोक्न र जलवायु लक्ष्य कमजोर नपार्न नयाँ वन पनि रोप्नुपर्छ ।

जीवनको पुनरागमन 

सुगी वा हिनोकी वनभित्र हिँड्दा अनौठो अनुभव हुन्छ — सबै रूख उचाइमा समान हुन्छन् र चराचुरुङ्गी वा कीराफट्याङ्ग्रा निकै कम देखिन्छन् । जमिन सुख्खा सुईजस्ता पातले ढाकिएको हुन्छ, प्रकाश र आवाज पनि न्यून हुन्छ । यो जापानका प्राकृतिक वनसँग बिल्कुल भिन्न छ, जहाँ जैविक विविधता प्रशस्त छ । रातो सल्ला, लार्च र मेपलजस्ता विविध रूखहरूले धेरै वन्यजन्तु र चराहरूलाई आश्रय दिन्छन् । 

जापानको विशिष्ट भूगोलले यसलाई विश्वकै जैविक विविधतायुक्त क्षेत्रमध्ये एक बनाएको छ । तर वासस्थान नष्ट हुनु र बाह्य प्रजातिको आक्रमणका कारण धेरै स्थानीय जीव संकटमा परेका छन् । 

यस्ता समस्याका कारण जापान अहिले यी एकै प्रकारका वनलाई बढी विविध वनमा रूपान्तरण गर्न खोजिरहेको छ । तर यो चुनौतीपूर्ण छ । जापान विश्वकै अत्यधिक वन क्षेत्र भएका औद्योगिक राष्ट्रमध्ये एक हो । देशको ६८ प्रतिशत भूभाग वनले ढाकिएको छ, जसको एकतिहाइ सुगी र हिनोकी वन हुन् । तुलना गर्दा अमेरिकामा ३४ प्रतिशत र बेलायतमा १३ प्रतिशत भूभाग मात्र वनले ढाकिएको छ । 

जापानभर वनहरू सहरको छेउमै छन् । सहर र वनबिचको क्षेत्रलाई जनाउने ‘सातोयामा’ भन्ने शब्द जापानी भाषामै छ । 

यद्यपि सन् २०२३ को सरकारी घोषणाअघि नै केही स्थानीय संस्था र गैरनाफामूलक समूहहरूले यी वनलाई जैविक विविधतायुक्त पारिस्थितिक प्रणालीमा रूपान्तरण गर्ने प्रयास थालेका थिए । उदाहरणका लागि, ओकायामास्थित सानो सहर निशिआवाकुराले आफ्ना ८४ प्रतिशत वन सुगी र हिनोकी मात्र भएको अवस्थालाई घटाउने अभियानसँगै अर्थतन्त्र निर्माण गरेको छ । त्यहाँको काठ ईल माछा पालनका लागि ताप उत्पादन, चपस्टिक र निर्माण सामग्री बनाउन प्रयोग गरिन्छ । 

सन् २०२० मा कोबेले १५ वर्षे योजनाअन्तर्गत १८० हेक्टरभन्दा बढी वनलाई पुनः प्राकृतिक चौडा पात भएका वनमा रूपान्तरण गर्न सुरु गर्‍यो । हरेक वर्ष केही क्षेत्र सफा गरेर सुगी, हिनोकी र बाँसजस्ता बाह्य प्रजाति हटाइन्छ । चौडा पात भएका रूख राखिन्छन् र जमिनमा सूर्यको प्रकाश पुग्न थालेपछि नयाँ बिरुवा उम्रिन थाल्छन् । 

परियोजना आधा पूरा भइसकेपछि स्थानीय अधिकारीहरू जैविक विविधता अपेक्षाभन्दा छिटो फर्किएको देखेर उत्साहित छन् । ‘हाम्रो वन्यजन्तु अनुगमनले ब्याजर, पोखरी कछुवा, धेरै प्रजातिका भ्यागुता र दुर्लभ कीराहरू फर्किएको देखाइरहेको छ,’ कोबे सिटी वातावरण ब्युरोका प्रमुख अत्सुसी ओकादा भन्छन् । 

यो योजनाले परागकण समस्या मात्र होइन, सन् २०३० सम्म कोबेको ३० प्रतिशत भूभाग संरक्षित क्षेत्र बनाउने लक्ष्य पनि पूरा गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । वन कटानपछि बाँकी काठ ताप उत्पादन, फर्निचर र धुवाँरहित जापानी कोइलो बनाउन प्रयोग गरिन्छ । दीर्घकालमा यो परियोजना सरकारी अनुदानबिना आर्थिक रूपमा टिकाउ बन्ने आशा गरिएको छ । 

भीमकाय चुनौती

यस्ता परियोजनाहरू अहिले जापानका अन्य भागमा पनि सुरु भइरहेका छन् । ओसाकाको होतानी क्षेत्रमा सिमसार र घाँसे मैदान पुनर्स्थापना गरिँदैछ । गुम्मा प्रिफेक्चरमा १० हजार हेक्टर वनलाई घाँसे मैदान र मिश्रित पातझर्ने वनमा बदल्ने योजना पनि छ । युनिभर्सिटी अफ टोकियोका जैविक विविधता विशेषज्ञ अकिरा मोरीका अनुसार यस्ता साना परियोजना जापानभर बढिरहेका छन् । 

यद्यपि २० प्रतिशत उच्च परागकण वन हटाउने लक्ष्य घोषणा भए पनि हालसम्म केही वनलाई कम परागकण उत्पादन गर्ने सुगीले पुनः रोपिएको छ । जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले लक्ष्यको प्रगति अनुगमन गर्ने जनाएको छ, तर हालसम्मको उपलब्धिबारे तथ्यांक दिएको छैन । 

एलर्जी घटाउन जापानले अन्य उपाय पनि अपनाइरहेको छ। परागकणको फैलावट अनुमान गर्न पूर्वानुमान प्रणाली प्रयोग भइरहेको छ । केही अनुसन्धानकर्ताहरूले रूखमा विशेष घोल छर्केर परागकण दबाउने प्रयोग पनि गरिरहेका छन् । 

औषधि विकास अर्को प्रयास हो । केही जापानी परीक्षणले जिब्रोमुनि राखिने दीर्घकालीन इम्युनोथेरापीले उपचारपछि दुई वर्षसम्म लक्षण कम गरेको देखाएको छ । वैज्ञानिकहरूले एलर्जी कम गर्न आनुवंशिक रूपमा परिमार्जित धानसमेत परीक्षण गरिरहेका छन् । 

सावधानीपूर्वक परिवर्तन 

१९५० र ६० को दशकमा सुगी र हिनोकी वन रोपिँदा ती सधैँका लागि रहने उद्देश्य थिएन । युद्धअघि जस्तै क्रमिक रूपमा काटेर पुनः रोप्ने योजना थियो । तर १९६० र ७० को दशकमा जापानको अर्थतन्त्र तीव्र गतिमा बढेपछि मलेसिया र इन्डोनेसियाबाट सस्तो काठ आयात गर्न थालियो । 

सन् २०११ मा भने जापानले काठ आयातमा निर्भरता घटाउने लक्ष्य लियो । घरेलु काठको प्रयोग २०१० को २६ प्रतिशतबाट २०२० मा करिब ४२ प्रतिशत पुगेको छ । सन् २०२४ देखि सरकारले सबै नागरिकबाट वार्षिक १,००० येन ‘वन वातावरण कर’ उठाउन थालेको छ । यो रकम दिगो वन व्यवस्थापन, परागकणयुक्त वन घटाउने र कम परागकण उत्पादन गर्ने नयाँ बिरुवा रोप्न प्रयोग भइरहेको छ । तर विज्ञहरूका अनुसार अझै यसमा पर्याप्त सहयोग भने छैन । धेरै स्थानीय निकायसँग यस्तो वन परिवर्तनको योजना बनाउने र अनुगमन गर्ने क्षमताको अभाव छ । 

जलवायु परिवर्तनले समस्या झन् बढाएको छ । तापक्रम र मौसम परिवर्तनले परागकण फैलावटलाई असर गरिरहेको छ, र सन् २०२५ मा जापानले इतिहासकै सबैभन्दा चाँडो परागकण फैलिएको अनुभव गर्‍यो ।जापानका विशाल वनहरूले ठुलो मात्रामा कार्बन पनि सोस्छन् । सुगी वनहरूले मात्रै जापानी वनले वार्षिक रूपमा अवशोषित गर्ने कार्बनको झन्डै आधा हिस्सा सम्हाल्छन् । तर पुराना रूखहरूले कम कार्बन सोस्ने भएकाले पुराना वन पातलो पार्दै नयाँ र विविध रूख रोप्नु आवश्यक मानिएको छ । 

१९६० अघि जापानी भाषामा ‘हे फिभर’ का लागि कुनै शब्द नै थिएन । जापानी देवदारबाट हुने परागकण एलर्जी पहिलोपटक सन् १९६३ मा पहिचान गरिएको थियो । अब आशा गरिएको छ कि प्राकृतिक र विविधायुक्त वन फर्किएसँगै जापानले एक दिन फेरि आफ्नो वसन्त ऋतु हाच्छ्युँ नगरि आनन्दपूर्वक बिताउन सक्नेछ । 

कमेन्टहरु