समयमै निर्माण नसक्दा अलपत्र सडक : पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे


पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन । बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरबाट हरपुरसम्म एक किलोमिटर र सुनवल बजारको ५०० मिटर सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवलले गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिएको थियो ।
विसं २०८१/०१/२६ गते निर्माण सम्पन्न गर्नेगरी २०८०/०१/२६ गते सम्झौता गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताए । उनका अनुसार बिजुलीको खम्बा तथा खानेपानीको पाइप सार्न ढिलाइ भएकाले ठेकेदारले समयमा काम सम्पन्न गर्न सकेको छैन ।
निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि धुलैधुलो भएर घरको आँगनमा बस्न नमिल्ने, यात्रुहरू सडकमा आवतजावत गर्दा नाकमुख छोप्नुपर्ने तथा भारतबाट आउने मालवाहक सवारीहरूलाई आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए ।
उनी भन्छन्, “समयमै सडक निर्माण हुन नसक्दा पानी नपर्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने अवस्था छ, जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायी इमान्दार नहुँदा राज्यको रकम खेर गएको छ भने जनताले दुःख पाएका छन् ।”






















