प्रबास

फिल्म ‘फियोर्ड’ बन्यो कान्समा सर्वोत्कृष्ट

एजेन्सी
२०८३ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ । रोमानियाली निर्देशक क्रिस्चियन मुङजिउद्वारा निर्देशित नर्वेमा बस्ने एक इसाई परिवारको कथामा आधारित विचारोत्तेजक चलचित्र ‘फियोर्ड’ ले कान्स फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।

शनिबार सम्पन्न फिल्मकर्मीरूले भरिएको समापन समारोहमा मुङजिउले आफ्नो दोस्रो पाल्मे डि’ओर पुरस्कार जितेमा हुन् । सेबास्टियन स्टान र रेनाते रेइनस्भ अभिनित उक्त फिल्म रोमानियाबाट नर्वेको एउटा गाउँमा सर्ने धार्मिक परिवारबिच उत्पन्न हुने मूल्य–मान्यताको टकरावमा केन्द्रित छ ।

फिल्मले नर्वे बसाइँ सर्ने इभान्जेलिकल इसाईहरूको कथा प्रस्तुत गर्छ, जसका बच्चाहरूलाई उनीहरूले पिटेको आरोपमा बाल सेवा निकायले खोसेर लैजान्छ । मुङजिउले यसलाई ‘वामपन्थी कट्टरवाद’ को कथा बताएका छन् ।यो चलचित्र वास्तविक घटनामा आधारित छ । फिल्ममा देखाइएका नर्वेलीहरूको कथित प्रगतिशील मूल्य र त्यहाँको बाल कल्याण प्रणालीमाथि प्रश्न उठाइएको पक्ष विशेष रूपमा उल्लेखनीय छ ।

‘यो सहिष्णुता, समावेशिता र सहानुभूतिको सन्देश हो । यी हामी सबैले सम्मान गर्ने सुन्दर मूल्यहरू हुन्, तर हामीले तिनलाई अझ धेरै व्यवहारमा उतार्न आवश्यक छ,’ मुङजिउले दर्शकलाई सम्बोधन गर्दै भने ।मुङजिउ दुई पटक पाल्मे डि’ओर जित्ने केवल दशौँ फिल्म निर्देशक बनेका छन् । उनको रोमानियाली गर्भपतनसम्बन्धी सिनेमा ‘फोर मन्थ्स, थ्रि विक्स एन्ड टु डेज’ ले सन् २००७ मा यो पुरस्कार जितेको थियो ।

रुसी निर्देशक आन्द्रे जिभ्यागिन्त्सेभको युद्धमा आधारित फिल्म ‘मिनोटौर’ले दोस्रो ठूलो पुरस्कार ‘ग्राँ प्री’ उचालेको छ । उक्त फिल्ममा रूसको युक्रेन आक्रमणमा फसेका निर्दयी व्यवसायीको कथा चित्रण गरिएको छ ।हाल फ्रान्समा निर्वासन जीवन बिताइरहेका जिभ्यागिन्त्सेभले रुसी नेता भ्लादिमिर पुटिन लाई लक्षित गर्दै भने, ‘यो रक्तपात अन्त्य गरियोस्, सम्पूर्ण संसार त्यसको प्रतीक्षामा छ ।’

त्यसो त कान्समा नेपालबाट गएको अविनास विक्रम शाहको सिनेमा ‘इलिफेन्ट्स इन द फग’ले दोस्रो महत्त्वपूर्ण विधा अन्तर्गत ‘जुरी प्राइज’ जितेको छ । हात्तीको आक्रमणबाट पीडित बस्तीमा बस्दै आएको एक परिवारको कथा समेट्ने यस सिनेमाले यौनिक तथा अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व गर्छ ।

कमेन्टहरु