प्रबास

पुटिनको आदेशपछि युक्रेनमा व्यापक आक्रमण

एजेन्सी
२०८३ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे

किभ । रुसले युक्रेनमा बृहत् स्तरमा हमला गरेको छ । युक्रेनी आक्रमणको प्रतिशोध लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएपछि रुसले युक्रेनको राजधानी किभमाथि व्यापक क्षेप्यास्त्र आक्रमण गरेको हो ।रुसको नियन्त्रणमा रहेको पूर्वी लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कस्थित एक कलेज छात्रावासमा युक्रेनी ड्रोन आक्रमण भएको दाबी गर्दै पुटिनले रक्षा मन्त्रालयलाई प्रतिशोधात्मक कदमको प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए ।

शनिबार राति रुसी मिसाइल र ड्रोनले किभलाई निशाना बनाइएको थियो । आक्रमणमा सरकारी कार्यालय, आवासीय र स्कुल नजिक एक पछि अर्को गर्दै शक्तिशाली विस्फोट भएका थिए । उक्त आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणबाट आवासीय भवन, विद्यार्थी छात्रावास, कार सेवा केन्द्र र सपिङ मलसमेत प्रभावित भएका छन् । किभका मेयर भिटाली क्लिट्स्कोले घाइतेमध्ये १५ वर्षीय किशोर पनि रहेको जानकारी दिएका छन् ।

तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । युक्रेनी वायुसेनाले राति ‘ओरेश्निक’ नामक मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार हुनसक्ने चेतावनी जारी गरेको थियो । 

किभका सैनिक प्रशासक टिमुर त्काचेन्कोले राजधानी ‘विशाल ब्यालिस्टिक आक्रमण’ अन्तर्गत रहेको भन्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका थिए । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ओरेश्निक मिसाइल प्रयोग गर्न सक्ने सूचना अमेरिकी तथा युरोपेली साझेदारहरूबाट प्राप्त भएको बताएका थिए । 

उनले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि तत्काल दबाब बढाउन आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले पनि मन्त्रालयमार्फत किभस्थित अमेरिकी दूतावासलाई सम्भावित रुसी मिसाइल आक्रमणको सूचना प्राप्त भएको जनाएको थियो । 

कमेन्टहरु