डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजीसेवा


काठमाडौँ । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए ।
यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ । माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ ।
‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ ।






















