मिस्त्री खोलामा माछा पाइन छाडे


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्री खोलामा माछा पाइन छाडेका छन् ।जलविद्युत आयोजना निर्माण भएपछि मिस्त्री खोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत्गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताए ।
विसं २०७७ मा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण भएपछि नारच्याङ्को दोभिल्नादेखि कालीगण्डकीको दोभानसम्म हिउँदको मङ्सिरदेखि जेठ महिनासम्म मिस्त्री खोलामा न्यून मात्रामा पानी बग्ने गर्छ । मुख्य याममै माछा पाइन छाडेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएकाले ज्याला मजदुरी र खेती किसानीको वैकल्पिक पेसा रोजेको बताउँछन् ।
बाँसबोट, नारच्याङ, पटार टोलका बासिन्दाले मिस्त्री खोलामा माछा मार्ने गरेका थिए । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बगेर आउने चिसो पानीमा हुुर्किएका मिस्त्रीखोलाका असला माछाको प्रमुख बजार पर्यटकीयस्थल भुरुङ्ग तातोपानी हो । स्थानीय माछाले माग धान्न नसकेपछि बाहिरबाट मगाउनुपरेको होटल व्यवसायी अमृतमान शेरचनले बताए ।
असला माछाको स्थानीय बजार भाउ प्रतिकिलोग्राम रु एक हजार ५०० देखि एक हजार ७०० रहेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाबाट भौतिक पूर्वाधार र आर्थिक हिसाबले फाइदा पुगे पनि नदीमा पाइने जलचर पाइन छाडेको, पानीका परम्परागत मुहान सुकेर वैकल्पिक व्यवस्था मिलाउनुपरेको र वन्यजन्तुले वासस्थान छाड्ने असर देखिएको बताए ।
“हाइड्रो आएपछि सडक यातायात सुविधा, स्थानीय पूर्वाधार आयोजनामा सहयोग, प्रभावितलाई सेयर लगानीको अवसर मिल्नुका साथै केही नकारात्मक असर पनि देखिएका छन्,” उनले भने “सबैभन्दा ठुलो असर माछालगायत जलचर पाइन र नजिकका जङ्गलमा वन्यजन्तु देखिन छाडेका छन् ।”
नियमअनुसार १० प्रतिशत पानीलाई खोलामा छाड्न लगाइएको र समय समयमा अनुगमन तथा निगरानी गरिएको वडा अध्यक्ष फगामीले बताए । नारच्याङ ऊर्जा गाउँको रूपमा परिचित छ । यहाँ ७१ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी पहिलो, ४२ मेगावाटको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दीखोला, छ दशमलव पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सकिएर सञ्चालनमा आएका छन् ।
६६.५ मेगावाटको मध्य कालिगण्डकी र नौ दशमलव १२ मेगावाटको सुपर घलेम्दी निर्माणाधीन छन् । १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । १२ मेगावाट क्षमताको मिस्त्री खोला ‘क्यासकेड’ सर्वेक्षणको प्रक्रियामा छ ।






















