प्रबास

एयर फ्रान्स र एयरबस २००९ को विमान दुर्घटनामा दोषी ठहर

एजेन्सी
२०८३ जेष्ठ ८ | मध्यान्ह ०३:०२ बजे

पेरिस । फ्रान्सेली विमान सेवा प्रदायक कम्पनी एयर फ्रान्स र एयरबसलाई सन् २००९ मा भएको भयानक विमान दुर्घटनासम्बन्धी मुद्दामा फ्रान्सको अपिल अदालतले हत्याको दोषी ठहर गरेको छ । २२८ जनाको ज्यान जाने गरी भएको सो दुर्घटनालाई फ्रान्सेली उड्डयन इतिहासकै सबैभन्दा घातक दुर्घटना मानिन्छ ।

पेरिसको अपिल अदालतले एयर फ्रान्स र एयरबसलाई उक्त दुर्घटनाका लागि “पूर्ण रूपमा जिम्मेवार” ठहर गरेको हो । दुर्घटनाग्रस्त उडान एएफ४४७ रियो डी जनेरियोबाट पेरिसतर्फ जाँदै थियो । उडानका क्रममा विमान आँधीबेहरीमा फसेर अटलान्टिक महासागरमा खसेको थियो । यसअघि सन २०२३ अप्रिलमा अदालतले दुवै कम्पनीलाई आरोपबाट सफाइ दिएको थियो । तर आठ सातासम्म चलेको पुनः सुनुवाइपछि बिहीबार अदालतले दुबैलाई दोषी ठहर गरेको हो । एयर फ्रान्स र एयरबसले भने आफूहरू निर्दाेष रहेको दाबी गर्दै फैसला विरुद्ध पुनः अपिल गर्ने बताएका छन् ।

दुर्घटनामा विमानमा सवार सबै २१६ यात्रु र १२ जना चालक दलका सदस्यको मृत्यु भएको थियो । विमान ३८ हजार फिटको उचाइबाट समुद्रमा खसेको थियो । दुर्घटनापछि विशाल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । दक्षिण अमेरिकाको तटबाट करिब १ हजार १२७ किलोमिटर टाढा अटलान्टिक महासागरको गहिराइमा विमानका भग्नावशेष खोज्न महिनौँ लागेको थियो । समुद्रको करिब १० हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरिएपनि विमानको फ्लाइट रेकर्डर सन २०११ मा मात्रै भेटियो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश फ्रान्स, ब्राजिल र जर्मनीका नागरिक थिए । बिहीबार अदालतको फैसला सुनाउन पीडित परिवारका सदस्यहरू उपस्थित भएका थिए । अदालतले एयर फ्रान्स र एयरबसलाई पीडित हरेकको परिवारलाई अधिकतम २ लाख २५ हजार युरो जरिवाना तिर्न आदेश दिएको छ । तर केही पीडित परिवारहरूले उक्त रकमलाई “प्रतीकात्मक सजाय” भन्दै असन्तुष्टि जनाएका छन् । दुर्घटनामा ३३ देशका नागरिक मारिएका थिए। तीमध्ये ६१ जना फ्रान्सेली, ५८ जना ब्राजिलियन, २६ जना जर्मन, दुई अमेरिकी, पाँच बेलायती र तीन आयरिस नागरिक थिए ।

दुर्घटनाको कारण के थियो?

सन २०१२ मा फ्रान्सेली अनुसन्धानकर्ताहरूले विमानका सेन्सरमा आएको प्राविधिक खराबी र पाइलटहरूको गलत प्रतिक्रियाले दुर्घटना भएको निष्कर्ष निकालेका थिए । अनुसन्धानअनुसार विमानको एयरस्पिड मापन गर्ने सेन्सरले गलत सूचना दिन थालेपछि पाइलटहरू अन्योलमा परेका थिए । विमान “स्टल” अवस्थामा पुगेपछि नाक तल झार्नुपर्नेमा उनीहरूले उल्टै विमानको नाक माथि उठाएका थिए, जसका कारण विमान समुद्रमा खसेको थियो ।

दुर्घटनापछि विश्वभर पाइलट तालिम प्रणालीमा सुधार गरिएको थियो भने विमानका स्पिड सेन्सरहरू पनि प्रतिस्थापन गरिएका थिए । दुर्घटनाको समयमा विमानका मुख्य पाइलटसँग ११ हजार घण्टाभन्दा बढी उडान अनुभव रहेको एयर फ्रान्सले जनाएको थियो । त्यसमध्ये १ हजार ७०० घण्टा सोही प्रकारको विमानमा उडान गरेको अनुभव थियो । 

कमेन्टहरु