कब्जामा रहेको पूर्वी क्षेत्रमा दुई आक्रमण : दर्जनौँ रुसी सैनिक मारिएको युक्रेनको दाबी


किभ । आफ्नो कब्जामा रहेको देशको पूर्वी क्षेत्रमा गरिएको दुई वटा आक्रमणमा ठुलो सङ्ख्यामा रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । पछिल्लो समय युक्रेनले रुसको सैन्य संरचनालाई लक्षित गर्दै मध्यम दूरीका ड्रोन आक्रमण तीव्र बनाइरहेको छ ।
युक्रेनको मानवविहीन प्रणाली बलका कमान्डरका अनुसार बुधबार राति कब्जामा रहेको स्निज्ने सहरस्थित रुसी ड्रोन पाइलट तालिम शिविरमा गरिएको आक्रमणमा कम्तीमा ६५ प्रशिक्षार्थी र एक प्रशिक्षक मारिएका छन् ।त्यसैगरी,अर्को आक्रमण कब्जामा रहेको खेरसान क्षेत्रमा रहेको रुसी सुरक्षा सेवाको मुख्यालय र हवाई प्रतिरक्षा प्रणालीमा गरिएको युक्रेनी दाबी छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उक्त आक्रमणमा करिब १०० रुसी सैनिक मारिएको वा घाइते भएको बताएका छन् । तर, उनले आक्रमण कहिले भएको थियो भन्ने खुलाएका छैनन् । युक्रेनले यति ठुलो क्षतिको दाबी गर्नु असामान्य मानिएको छ । स्वतन्त्र रूपमा यी दाबीहरू पुष्टि हुन सकेको छैन । रुसी अधिकारीहरूले पनि यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन् ।
यसबिच, रुसी रक्षा मन्त्रालयले बिहीबार युद्धको अग्रपङ्क्तिमा आफूहरूले थप भू–भाग नियन्त्रणमा लिएको दाबी गरेको छ । अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले बेलारुसमा आणविक हतियारसम्बन्धी अभ्यासका क्रममा केही आणविक सामग्री भण्डारण स्थलमा पठाइसकेको जनाएको छ ।
भ्लादिमरि पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेंडर लुकाशेंकोले भिडियोमार्फत उक्त सैन्य अभ्यासको नेतृत्व गरेका थिए । हालका हप्ताहरूमा युक्रेनले युद्धभूमिमा केही सफलता हासिल गरेको देखिएको छ ।
अमेरिकी युद्ध विश्लेषण संस्था इन्ष्टिच्यूट फर द स्टडी अफ वारका अनुसार गत अगस्ट २०२४ पछि पहिलो पटक युक्रेनले रुसले कब्जा गरेकोभन्दा बढी भू–भाग पुनः नियन्त्रणमा लिन सफल भएको छ । यद्यपि, रुसले अझै पनि युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ ।






















