लेजर हेयर रिमुभल डिभाइसले मेलबर्न विमानस्थलमा बमको त्रास


मेलबर्न । मेलबर्नको एभालन विमानस्थल बिहीबार चार घण्टा आंशिक रूपमा बन्द गर्नुपर्यो । एक जना यात्रुको लगेजमा लेजर हेयर रिमुभल डिभाइस र हट चकलेट कन्टेनरलाई बम भएको आशङ्कापछि विमानस्थलमा त्रास फैलिएको थियो ।विमानस्थलमा सुरक्षा जाँचका क्रममा शङ्कास्पद प्याकेज फेला परेपछि बिहान करिब ६ बजे प्रहरी बोलाइएको थियो । यसपछि आन्तरिक उडानहरू प्रभावित भए भने अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भए ।
भिक्टोरिया प्रहरीका कार्यवाहक निरीक्षक निक उबेर्गाङले ती व्यक्तिले सुरुवातमा पर्याप्त सहयोग नगरेकाले अवस्था लम्बिएको बताएका छन् । उनले भने, ‘यदि उनले सुरुमै सहयोग गरेका भए अवस्था चाँडै समाधान हुन सक्थ्यो ।’
विमानस्थलका प्रवक्ताले सुरक्षा प्रक्रियाको सतर्कताका कारण तत्काल सावधानी अपनाइएको बताएका छन् । यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।
घटनाका कारण केही यात्रुहरू पार्किङ क्षेत्रमा पर्खिन बाध्य भएका थिए । कतिपयले शौचालय, खानेकुरा तथा अन्य आधारभूत सुविधा उपलब्ध नभएको गुनासो गरेका छन् । यस घटनाका कारण जेटस्टार एयरवेजले सञ्चालन गर्ने दुई आन्तरिक उडान (एक सिड्नी जाने र अर्काे सिड्नीबाट आउने) रद्द गरिएको थियो भने अन्य केही उडान ढिलो भएका थिए ।





















