कूटनीतिक परम्परा तोड्दै ट्रम्प : ताइवानी नेता लाइसँग संवाद गर्ने, चिढियो चीन


वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित हतियार बिक्रीको विषयमा ताइवानी नेता लाइ चिङ–तेसँग कुराकानी गर्ने बताएका छन्, जुन कूटनीतिक परम्पराभन्दा निकै फरक कदम हो। सन् १९७९ मा वासिङ्टनले बेइजिङ सरकारलाई मान्यता दिँदै ताइवानसँगको औपचारिक सम्बन्ध तोडेयता अमेरिकी र ताइवानी नेताहरूबिच सीधा कुराकानी भएको छैन।
बेइजिङले ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ र यसलाई नियन्त्रणमा लिन सैन्य बल प्रयोग गर्न सक्ने सम्भावनालाई पनि नकारेको छैन। सन् २०२४ मा कार्यभार सम्हालेका लाइले टापुको रक्षा प्रणालीलाई सुदृढ पार्न विगत धेरै वर्षयताकै सबैभन्दा बलियो प्रयास गरिरहेका छन्।
अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने निर्णय गर्नुअघि लाइसँग कुरा गर्ने योजना छ कि भनेर बुधबार सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म उनीसँग कुरा गर्नेछु, म सबैसँग कुरा गर्छु र हामी ताइवानको समस्यामा काम गर्नेछौँ ।’ उनले गत हप्ता बेइजिङमा भएको दुई दिने शिखर सम्मेलनको पृष्ठभूमिमा चीनका राष्ट्रपति सी चिनफिङसँगको आफ्नो सम्बन्ध ‘अद्भूत’ रहेको भन्दै प्रशंसा पनि गरेका छन्।
सन् १९७९ मा अमेरिकाले ताइवान सम्बन्ध ऐन पारित गरेको थियो, जसमा अमेरिकाले ताइवानलाई ‘रक्षात्मक प्रकृतिका हतियारहरू उपलब्ध गराउन सक्ने’ उल्लेख छ र सोही कारण अमेरिकाले ताइवानलाई हतियार बिक्री जारी राखेको छ। ताइवानलाई दिइने भनिएको सम्भावित १४ अर्ब डलरको हतियार प्याकेजमा ड्रोन विरोधी उपकरण र वायु रक्षा मिसाइल प्रणाली समावेश रहेको बताइएको छ। ट्रम्पले यो हतियार बिक्री अघि बढ्ने वा नबढ्ने भन्नेबारे अझै निर्णय गरिनसकेको बताएका छन्।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार बेइजिङले पेन्टागनका शीर्ष नीति अधिकारी एल्ब्रिज कोल्बीको प्रस्तावित भ्रमणलाई रोकेर राखेको छ। ट्रम्पले हतियार सम्झौतामा कसरी अगाडि बढ्ने भन्ने निर्णय नगरेसम्म यो भ्रमणलाई स्वीकृति दिन नसकिने चीनको भनाइ छ।
गत हप्ता राष्ट्रपति सीसँगको भेटपछि बेइजिङबाट एयर फोर्स वान विमानमा फर्कने क्रममा ट्रम्पलाई ताइवानलाई हतियार बिक्री गर्नेबारे सोधिएको थियो, जसमा उनले ‘थोरै समयभित्रै यसबारे दृढ निर्णय लिने’ बताएका थिए। उनले भने, ‘मैले अहिले ताइवान चलाइरहेका व्यक्तिसँग कुरा गर्नुपर्छ, तपाईंलाई थाहा छ उनी को हुन् ।’
ट्रम्पको बेइजिङ भ्रमणका क्रममा चीनले अमेरिकासँगको सम्बन्धमा ताइवान सबैभन्दा ठुलो मुद्दा भएको स्पष्ट पारेको थियो भने राष्ट्रपति सीले यसलाई राम्रोसँग नहेरेमा दुई महाशक्तिबिच ‘द्वन्द्व’ हुन सक्ने चेतावनी दिएका थिए।ट्रम्पले यस टापुका कारण अमेरिका र चीनबिच द्वन्द्व हुने सम्भावनालाई खारेज गरे पनि ताइवानको विषयमा सी ‘धेरै गम्भीर’ रहेको बताएका छन्। उनले गत हप्ता पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले कुनै पनि प्रतिबद्धता जनाएको छैन ।’
ट्रम्प र सीको भेटवार्तापछि ताइवानी नेता लाइले यो टापु एक ‘सार्वभौम, स्वतन्त्र लोकतान्त्रिक देश’ भएको र ताइवान स्ट्रेटको शान्तिलाई ‘बलिदानी वा व्यापारको विषय’ बनाउन नसकिने भन्दै विज्ञप्ति जारी गरेका छन्। लाइले अमेरिकी हतियार बिक्री ‘क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नको लागि प्रमुख कारक’ भएको कुरामा पनि जोड दिएका छन्।
ट्रम्पले स्थापित कूटनीतिक परम्परा तोडेको यो पहिलो पटक भने होइन। सन् २०१६ मा निर्वाचित राष्ट्रपति भएका बेला उनले तत्कालीन ताइवानी नेता साई इङ–वेनसँग कुरा गरेका थिए, जसको चीनले अमेरिकासमक्ष विरोध जनाएको थियो। ट्रम्पले हतियार बिक्रीको विषयमा सीसँग पनि ‘विस्तृत रूपमा’ छलफल गरेको दाबी गरेका छन्, जुन सत्य भएमा अमेरिकी नीतिको अर्को आश्चर्यजनक उल्लंघन हुनेछ।
सन् १९८२ मा अमेरिकाले ताइवानलाई हतियार बिक्रीको विषयमा बेइजिङसँग परामर्श नगर्ने आश्वासन दिएको थियो। तर बेइजिङबाट फर्कने क्रममा सो प्रतिबद्धताबारे सोधिएको प्रश्नमा ट्रम्पले १९८० को दशक ‘धेरै पुरानो’ कुरा भइसकेको बताए। गत डिसेम्बरमा अमेरिकाले ताइवानलाई ११ अर्ब डलरको हतियार बिक्री स्वीकृत गरेको थियो, जसले बेइजिङलाई आक्रोशित बनाएको थियो। चीनको बढ्दो सैन्य दबाबको सामना गर्न ताइवानले राष्ट्रपति लाइको नेतृत्वमा आफ्नो रक्षा खर्च उल्लेखनीय रूपमा बढाएको छ।






















