पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल


पर्सा । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ ।
तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गरे । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्याङ्क पनि पाउन समस्या भइरहेको छ”, उनले भने, “यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।”
पर्सामा तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्सा जिल्लाभरिमा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा सोमबारसम्म भने १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरीवेक्षक खटिएको कार्यालयले जनाएको छ ।






















