कर्णालीको कृषि आधुनिकीकरण र रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरणबारे इजरायली राजदूतसँग कर्णालीका युवा देवकोटाको शिष्टाचार भेटवार्ता

काठमाडौं, जेठ २ । कर्णालीका युवा तथा पूर्व केन्द्रीय सदस्य आशिष देवकोटा र नेपालका लागि इजरायलका महामहिम राजदूतबीच हिजो जेठ १ गते नेपालका लागि ईजरायली राजदुतावास, काठमाडौंमा एक घण्टा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण, जडिबुटीको संरक्षण तथा निर्यात प्रवर्द्धन लगायतका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
भेटमा देवकोटाले कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बालीहरू कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो तथा कर्णालीका विभिन्न दालजन्य उत्पादनलाई इजरायलसम्म निर्यात गर्न पहल गरिनुपर्ने धारणा राखेका थिए। साथै यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा, घुच्ची च्याउजस्ता बहुमूल्य जडिबुटीहरू न्यून मूल्यमा छिमेकी राष्ट्र भारत र चीनतर्फ कच्चा पदार्थका रूपमा निर्यात भइरहेको उल्लेख गर्दै यसको सुधारका लागि इजरायल सरकारसँग प्रविधि, प्राविधिक सहयोग तथा लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए।
देवकोटाले कर्णालीको विकासका लागि पहिला परम्परागत कृषि प्रणालीलाई सुधार गर्न कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरण आवश्यक रहेको उल्लेख गर्दै नेपालका विभिन्न विश्वविद्यालयमा सञ्चालन हुँदै आएको “लन एण्ड अन” कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए। विशेषगरी कर्णाली प्रदेश, खासगरी मुगु जिल्लाका कृषि विद्यार्थी तथा युवाहरूलाई इजरायलको कृषि क्षेत्रमा काम तथा अध्ययनको अवसर प्रदान गर्न सके त्यसबाट प्राप्त सीप र अनुभव नेपाल फर्किएपछि कर्णालीको कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
भेटका क्रममा देवकोटाले नेपाली कागजको प्रयोग गरेर नेपालमा बनेको नेपाली विश्वविद्यालयमा प्रयोग भइरहेको डायरी मायाको चिनोस्वरूप इजरायली राजदूतलाई प्रदान गरेका थिए।
जवाफमा इजरायली राजदूतले नेपाल, विशेषगरी कर्णाली प्रदेशको कृषि आधुनिकीकरण र यान्त्रीकरणमा इजरायल सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा सहकार्य बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले यस वर्ष नेपालबाट २३०० जना कामदार, किसान तथा घरायसी क्षेत्रमा काम गर्ने महिलाहरूलाई इजरायल लैजाने निर्णय भएको जानकारी पनि दिएका छन्।
देवकोटाको अनुरोधमा महामहिम राजदूतले सन् २०२६ भित्र कर्णाली प्रदेशको रारा ताल लगायतका क्षेत्रको भ्रमण गरी त्यहाँको अवस्था तथा सम्भावनाको अवलोकन गर्न इच्छुक रहेको बताएका छन्।
कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, इन्टरनेट तथा विद्युतजस्ता आधारभूत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै आएका देवकोटा कर्णाली प्रदेशको मुगु जिल्ला घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत छन्।






















