प्रबास

एआईको असर : हजारौं कर्मचारीई निकाल्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

एजेन्सी
२०८३ जेष्ठ ५ | मध्यान्ह ०४:०२ बजे

लन्डन । बेलायती बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले हजारौँ रोजगारी कटौती गर्ने घोषणा गरेको छ । बेलायत मुख्यालय रहेको उक्त बैंकले सन् २०३० सम्म आफ्ना ब्याक–अफिससम्बन्धी १५ प्रतिशतभन्दा बढी अर्थात् करिब ७ हजार ८०० पद कटौती गर्ने जनाएको हो । कृत्रिम बौद्धिकता (एआई)को प्रयोग बढाउँदै लगेसँगै कर्मचारीको आवश्यकता हटेपछि कम्पनीले यो कदम चाल्न लागेको हो ।

बीबीसीका अनुसार बैंकले प्रभावित केही कर्मचारीलाई कम्पनीभित्रकै अन्य भूमिकामा स्थानान्तरण गर्ने योजना पनि बनाएको छ । यस योजनामा कुन–कुन देशमा रोजगारी कटौती हुनेछ भन्नेबारे कम्पनीले विस्तृत जानकारी दिएको छैन । तर बैंकका प्रमुख ब्याक–अफिस सञ्चालनहरू भारत, चीन, मलेशिया र पोल्यान्डमा छन् ।

कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी स्वचालन, उन्नत विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको व्यावहारिक प्रयोग विस्तार गर्दै प्रक्रियालाई सरल, निर्णय प्रक्रियालाई प्रभावकारी तथा ग्राहक सेवा र आन्तरिक कार्यक्षमता सुधार गर्न काम गरिरहेका छौँ । यो कदम बैंकका प्रमुख कार्यकारी अधिकृत बिल विन्टर्सको नयाँ वैश्विक रणनीतिअन्तर्गत आएको हो । बैंकले विशेष रूपमा एशिया र अफ्रिकामा आफ्नो नाफा वृद्धि गर्ने लक्ष्य पनि अघि सारेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड एआईका कारण कर्मचारी कटौती गर्ने पहिलो वित्तीय संस्था भने होइन । यसअघि फेब्रुअरीमा सिंगापुरको डीबीएस बैंकले आगामी तीन वर्षमा करिब ४ हजार अस्थायी तथा करार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । विशेषज्ञहरूका अनुसार एआईको तीव्र विकासले प्रविधि तथा वित्तीय क्षेत्रमा ठूलो रोजगारी संकट निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

 

प्रविधि कम्पनीहरूमा पनि ठूलो कटौती

एआई पूर्वाधार र उपकरण विकासमा ठूलो लगानी गरिरहेका प्रमुख प्रविधि कम्पनीहरूले पनि व्यापक कर्मचारी कटौती गरेका छन् । फेसबुकको माउ कम्पनी मेटाले अप्रिलमा आफ्नो कार्यबलको १० प्रतिशत अर्थात् करिब ८ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । कम्पनीले हजारौँ खाली पदमा नयाँ भर्ती नगर्ने पनि जनाएको थियो । त्यस्तै, एमाजनले जनवरीमा ३० हजारभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेको थियो भने ओ¥याकल ले १० हजारभन्दा बढी कर्मचारी कटौती गरेको थियो ।

कमेन्टहरु