बिश्व

सीईओको हुल बोकेर चीन पुगेका ट्रम्पले गर्न सकेनन् ठुला व्यापार सम्झौता

एजेन्सी
२०८३ जेष्ठ २ | बिहान ०६:०२ बजे

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने चीन भ्रमण सकेर स्वदेश फर्किसकेका छन् ।बेइजिङमा अन्तिम वार्ताका लागि चिनियाँ समकक्षी सी चिनफिङलाई भेट्नुअघि ट्रम्पले चीनसँगको सम्बन्धलाई ‘विश्वकै सबैभन्दा महत्त्वपूर्ण आर्थिक सम्बन्ध’ भनी व्याख्या गरेका थिए । तर व्यापक अपेक्षासहित सुरु भएको यो भ्रमण अन्ततः ठुला व्यापार सम्झौता र दीर्घकालीन संरचनात्मक सहमतिहरूमा अपेक्षाभन्दा कमजोर परिणामसहित समाप्त भएको छ ।

यो भ्रमण केवल कूटनीतिक भेटघाट नभई विश्वका ठुला कम्पनीहरूका सीईओहरूको उपस्थितिका कारण अत्यन्तै उच्च व्यापारिक महत्त्वका रूपमा हेरिएको थियो । कृषि, विमान, विद्युतीय सवारी (ईभी), कृत्रिम बुद्धिमत्ता (एआई) चिप्स तथा सेमिकन्डक्टर क्षेत्रका प्रमुख कम्पनीका सीईओ यस प्रतिनिधिमण्डलमा सहभागी थिए, यसले अमेरिका–चीन सम्बन्धलाई केवल राजनीतिक नभई प्रविधि र विश्व अर्थतन्त्रको केन्द्रमा रहेको प्रतिस्पर्धाको रूपमा पुनः उजागर गरेको छ । तर वार्ताको प्रारम्भिक दिनहरूका दृश्य मुख्य रूपमा औपचारिकता, भव्य समारोह र सकारात्मक बयानहरूमा केन्द्रित रहे । दुवै देशका नेताहरूले न्यानोपन देखाए पनि ठोस आर्थिक सम्झौता भने सीमित मात्रामा मात्रै बाहिर आयो ।

भ्रमणको मुख्य दिन बिहीबार ट्रम्प र सीबिच करिब दुई घण्टाभन्दा बन्द कोठामा लामो गहिरो छलफल भएको थियो । अमेरिकी पक्षले यस वार्तालाई अत्यन्तै उत्पादक भनेर मूल्याङ्कन गरे पनि कुनै ठुलो व्यापार सम्झौता, कर संरचना परिवर्तन वा दीर्घकालीन आर्थिक सहमति तत्काल घोषणा गरिएन । ट्रम्पले बेइजिङस्थित उच्चस्तरीय सरकारी सभामा यो सम्भावित रूपमा ‘सबैभन्दा ठुलो शिखर बैठक’ हुन सक्ने बताएका थिए । तर चीन पक्षले भने वार्तामा प्रगति भएको संकेत दिँदै एकैसाथ कडा चेतावनी पनि दियो । सीले विशेष रूपमा ताइवान मुद्दालाई उठाउँदै यो विषय गलत रूपमा व्यवस्थापन गरिए अमेरिका र चीन ‘ठोक्किन वा सैन्य द्वन्द्वमा जान सक्ने’ अवस्था आउन सक्ने चेतावनी दिए, यसले दुई पक्षबिच व्यापार वार्ता भए पनि सुरक्षा र भू–राजनीतिक तनाव अझै गहिरो रूपमा कायम रहेको देखाउँछ । 

xi-trump3

बोइङ सम्झौता दाबी र बजार प्रतिक्रिया

वार्तापछि ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै चीनले २०० वटा बोइङ विमान खरिद गर्ने सहमति जनाएको दाबी गरे । चीनले यस पटक कम्तीमा ५०० थान बोइङ ७३७ म्याक्सको अर्डर दिने विश्लेषकहरूले अपेक्षा गरेका थिए । दुई पक्षबिच कुराकानीमा यसबाहेक अरू दर्जनौँ वाइडबडी जेट खरिदका लागि वार्ता भइरहेको खबर आएका थिए । तर चीनबाट अपेक्षाकृत थोरै अर्डर आयो । अमेरिका र चीन दुवैले यस सम्झौताको विवरण सार्वजनिक गरेका छैनन् ।  यदि यो कार्यान्वयनमा आए चीनले लगभग एक दशकपछि गरेको यो सबैभन्दा ठुलो अमेरिकी व्यावसायिक विमान खरिद हुनेछ । तर यस घोषणापछि बजारमा सकारात्मक प्रतिक्रिया आउनुको सट्टा उल्टो असर देखियो । बोइङका सेयरहरू ४ प्रतिशतभन्दा बढीले घटे । यसले लगानीकर्ताहरूमा सम्झौताको वास्तविकता र यसको दिगोपनबारे शंका रहेको संकेत गर्छ ।

विशेषज्ञहरूले यसलाई ‘घोषणात्मक सम्झौता तर कार्यान्वयन अनिश्चित’ भएको टिप्पणी गरेका छन् । चीनले विगतमा पनि ठुला खरिद प्रतिबद्धता गरे पनि कार्यान्वयन ढिलो हुने वा सीमित हुने अवस्था देखिएको थियो । 

अस्थायी व्यापार युद्धविराम र स्थिरता

यस भ्रमणको पृष्ठभूमिमा अमेरिका र चीनबिच पहिले नै गरिएको अस्थायी व्यापार युद्ध विराम पनि रहेको छ । यसअन्तर्गत दुवै देशले एक अर्काको देशबाट आफ्नो देशमा भित्रिने सामानमा भन्सारमा लाग्ने अतिरिक्त महसुल रोक्ने र चीनले दुर्लभ खनिज निर्यातमा केही सहजता दिने सहमति गरेका थिए, तर यो सम्झौता दीर्घकालीन होइन । यसको अवधि नोभेम्बरमा समाप्त हुने भएकाले त्यसपछि के हुन्छ भन्ने विषय अझै अनिश्चित छ ।

ट्रम्पसँग चीन भ्रमणमा रहेका अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले ब्लुम्बर्ग टीभीसँगका कुराकानीमा यसलाई विस्तार गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय नगरिएको बताएका थिए । दुवै नेताहरू ट्यारिफ वार्ता पुनः खोल्नु नपर्नेगरी सम्बन्ध व्यवस्थापन गर्ने हेतुले व्यापार बोर्ड स्थापना गर्न सहमत भएको ह्वाइट हाउसले भनेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बजनेस न्युज च्यानल सीएनबीसीलाई पहिला नै रेकर्ड गरिएको एउटा अन्तर्वार्तामा व्यापार सम्बन्ध व्यवस्थापन गर्न नयाँ संयन्त्र बनाउने विषयमा छलफल भइरहेको बताएका थिए । यद्यपि, यी संयन्त्र पूर्ण रूपमा सञ्चालनमा आउनुअघि कैयौँ काम गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले भनिरहेका छन् ।

अमेरिका–चीन सम्बन्धलाई केवल राजनीतिक नभई प्रविधि र विश्व अर्थतन्त्रको केन्द्रमा रहेको प्रतिस्पर्धाको रूपमा पुनः उजागर गरेको छ । तर वार्ताको प्रारम्भिक दिनहरूका दृश्य मुख्य रूपमा औपचारिकता, भव्य समारोह र सकारात्मक बयानहरूमा केन्द्रित रहे । दुवै देशका नेताहरूले न्यानोपन देखाए पनि ठोस आर्थिक सम्झौता भने सीमित मात्रामा मात्रै बाहिर आयो ।

प्रविधि र व्यापार

ट्रम्पको पछिल्लो भ्रमणमा शीर्ष अमेरिकी व्यापारीहरूको जत्था नै बेइजिङ पुगेको थियो । चीनसँगको व्यापार तनावका बिचमा अमेरिकी सीईओहरू बेइजिङ जानुलाई निकै महत्त्वका साथ हेरिएको थियो । एयर फोर्स वन बेइजिङमा अवतरण गरेपछि पेट हेगसेथ, मार्को रुबियो जेमसन ग्रिरभन्दा अगाडि विमानबाट खर्बपति व्यापारी एलन मस्क निस्किए ।

स्वागत समारोहमा मस्क र चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेनसेन हुआङ ट्रम्पको नजिकमा बसेका थिए । यसले अमेरिका र चीन सम्बन्धमा ईभी, एआई र चिप कत्तिको महत्त्वपूर्ण छ भन्ने संकेत गरिरहेको थियो । यी दुवै कम्पनीको चीनमा ठुलो व्यापार छ । टेस्ला शाङहाईको गिगाफ्याक्ट्री र चिनियाँ उपभोक्तामाथि निकै निर्भर छ भने एनभिडिया एआईको दौड र उन्नत चिप निर्यातमा अमेरिकाले लगाएको अंकुशको केन्द्रमा छ ।

ट्रम्पसँग चीन आउने प्रतिनिधिमन्डलमा हुआङ्को नाम नै थिएन । उनलाई अन्तिम क्षणमा यसमा सामेल गराइएको थियो । एक्कासि हुआङ ट्रम्पको भ्रमण टोलीमा आउनुले एआई र चिपको पहुँचबारे ठुलै छलफल हुने अड्कलबाजी चर्किएको  थियो । ट्रम्पले पछि फक्स न्युजलाई चीनले ‘ती मानिसहरूसँग सयौँ अर्ब डलर लगानी गर्नेछ’ भनेर भनेका थिए, तर यसो भनिरहँदा उनले थप विवरण भने दिएनन् ।

xi-trump2

बजारमा पहुँच र सहकार्य

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरका अनुसार चिनियाँ कृषि वस्तु र गाईको मासु खरिदसम्बन्धी सम्झौताहरू दृढ पारिएका छन् । अमेरिकाका किसानहरूले भटमास, गाईको मासु, कुखुराको मासुको लागि थप चिनियाँ पहुँच खोजिरहेका छन्, तर कुनै ठोस विवरण घोषणा गरिएको छैन । ह्वाइट हाउसका अनुसार वार्तामा अमेरिकी कम्पनीहरूको लागि चिनियाँ बजार पहुँच विस्तार गर्ने र अमेरिकी उद्योगहरूमा चिनियाँ लगानी बढाउनेबारे छलफल समावेश थियो ।

समाचार साइट सिन्ह्वाका अनुसार सीले अमेरिकी व्यापारिक नेताहरूलाई चीनको ढोका फराकिलो खुल्ने र अमेरिकी फर्महरूको चिनियाँ बजारमा बृहत्तर सम्भावना हुने बताए । द्विपक्षीय सम्बन्धलाई पारस्परिक रूपमा लाभदायक र दुवैलाई जित हुने नतिजा दिँदै व्यापार, कृषि, स्वास्थ्य सेवा, पर्यटन र कानुन प्रवर्तनमा विस्तारित सहयोगको लागि पनि उनले आह्वान गरे । अमेरिकी कम्पनीहरूका लागि चीन ठुलो बजार हो । तर नियमन, सरकारी कामकाजमा ढिलाइ र भू–राजनीतिक अनिश्चितताका कारण यहाँ व्यापार गर्न उनीहरूलाई निकै कठिन छ ।

सबैभन्दा संवेदनशील मुद्दाः ताइवान

वार्तामा सबैभन्दा गम्भीर र संवेदनशील विषय ताइवान बन्यो । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ, जबकि अमेरिका ताइवानको सुरक्षा र स्वशासनलाई समर्थन गर्दै आएको छ । विगत एक वर्षदेखि चलिरहेको व्यापार वार्तामा, ताइवानलाई अमेरिका र चीनबिचको धेरै घर्षण बिन्दुहरू मध्ये एकका रूपमा हेरिएको थियो । विशेषगरी ताइवानी चिप निर्माता कम्पनीहरूसँगको अमेरिकी सहकार्य, अमेरिका–ताइवान व्यापार सम्बन्ध, र ताइपेईलाई हतियार बिक्रीको कारण पनि यो मुद्दा पेचिलो रहँदै आएको छ । तर बैठकबाट प्राप्त चिनियाँ सन्देशले ताइवानलाई अमेरिका–चीन व्यापार सम्बन्धको लागि एक सर्तका रूपमा बढ्दो रूपमा प्रस्तुत गरिँदैछ भन्ने सुझाव दिएको छ ।

सुल्झिन नसकेको मुद्दा

अमेरिका र चीनबिचको सबैभन्दा ठुलो र दीर्घकालीन विवाद प्रविधि क्षेत्रमा देखिन्छ । अमेरिका अहिले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर र एआई चिप्समा पहुँच सीमित गर्न कडा निर्यात नियन्त्रण नीति लागु गरिरहेको छ । यसको उद्देश्य चीनलाई उच्चस्तरीय कृत्रिम बौद्धिकता (एआई) क्षमता विकास गर्न रोक्नु वा ढिलो गर्नु हो । तर चीनले यसलाई आफ्नो औद्योगिक विकासमाथि रोक लगाउने प्रयासको रूपमा आलोचना गर्दै आएको छ ।

वार्तामा सबैभन्दा गम्भीर र संवेदनशील विषय ताइवान बन्यो । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ, जबकि अमेरिका ताइवानको सुरक्षा र स्वशासनलाई समर्थन गर्दै आएको छ । विगत एक वर्षदेखि चलिरहेको व्यापार वार्तामा, ताइवानलाई अमेरिका र चीनबिचको धेरै घर्षण बिन्दुहरू मध्ये एकका रूपमा हेरिएको थियो ।

एआई ट्रम्प–सी वार्ताको प्रमुख विषय हुने अपेक्षा भए पनि प्रारम्भिक रिपोर्टहरूमा यसबारे धेरै विवरण सार्वजनिक गरिएको छैन । एआई सर्वाेच्च प्राथमिकता भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी प्रतिनिधिमण्डलहरूले शिखर सम्मेलनमा एआई गार्डरेलिङबारे छलफल गरिरहेको बेसेन्टले भनेका थिए । अमेरिकाले एआईमा चीनमाथि आफ्नो अग्रता कायम राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘हामी गर्न नचाहेको चिज भनेको नवप्रवर्तनलाई दबाउने हो । त्यसैले हाम्रो जिम्मेवारी भनेको उच्चतम प्रदर्शन गणनाको साथ आउनु हो, जहाँ हामीले सबैभन्दा बढी नवप्रवर्तन र उच्चतम स्तरको सुरक्षा प्राप्त गर्न सक्छौं,’ बेसेन्टले भने । ट्रम्पले इरान द्वन्द्व र तेल बजार स्थिरतामा चिनियाँ सहयोगको आशा गर्दै वार्तामा पनि प्रवेश गरेका थिए । ‘सी होर्मुज स्ट्रेट खुला भएको हेर्न चाहन्छन्,’ ट्रम्पले फक्स न्यूजलाई भनेका थिए, ‘यदि मैले कुनै पनि मद्दत गर्न सक्छु भने म मद्दत गर्न चाहन्छु ।’

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार व्यापक र दिगो युद्धविरामको लागि आह्वान गर्दै एक विज्ञप्ति जारी गरेको छ । ‘अन्तर्राष्ट्रिय समुदायको आह्वानको प्रतिक्रियामा ढुवानी लेनहरू सकेसम्म चाँडो पुनः खोलिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । स्ट्रेट अफ होर्मुज विश्वको ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग हो । तेल आपूर्ति अवरोधले चीनको ऊर्जा आयात लागत बढाउने भएकाले यो विषय चीनका लागि पनि रणनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ ।

बिहीबार साँझ बेइजिङमा आयोजित राजकिय भोजमा ट्रम्पले राष्ट्रपति सीलाई आगामी २४ सेप्टेम्बरमा वाशिङ्टन भ्रमणको निमन्त्रणा दिएका छन् । विश्वका दुई ठुला अर्थतन्त्रहरूले यस पटकको व्यापार वार्तामा खासै प्रगति हासिल गर्न सकेनन् । सी अमेरिका भ्रमणमा जानुअघि दुई पक्षबिच थप वार्ता पक्कै हुनेछ । यी वार्तामा यस पटकको वार्तामा हासिल हुन नसकेको सफलता हासिल होला त ? त्यो भने समयले नै बताउनेछ ।

कमेन्टहरु