समाज

देवघाटमा निर्माण गरिएको शवदाह गृह अझै सञ्चालनमा आउन सकेन

रासस
२०८३ जेष्ठ १ | मध्यान्ह ०४:०२ बजे

चितवन, जेठ १। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शवगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा शव दहन नभएपछि समस्या उत्पन्न भएको हो । “कतिपय शव एक घण्टामा दहन भएका थिए भने कतिपय आठ-नौ घण्टामा पनि दहन हुनसकेको थिएन । लामो समयसम्म शवगृहमा राख्दासमेत नपोलिएपछि यहाँ आएका मलामीले आक्रोश व्यक्त गर्दै तोडफोडसमेत गरेका थिए । यससँगै बन्द भएर मर्मतसम्भार थालिएको शवगृह सञ्चालनमा आएको छैन”, उहाँले भन्नुभयो ।

महानगरपालिकाले १६ जना ‘स्वीपर’लाई शव दहनसम्बन्धी तालिम दिएको थियो । उहाँहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले बताउनुभयो । शव दहन गर्ने उपकरण चलाउन प्राविधिक जनशक्ति आवश्यक पर्ने जनाउँदै उहाँले त्यस्तो जनशक्ति पाउन कठिन भएपछि नियमित सञ्चालनमा समस्या भएको उल्लेख गर्नुभयो ।

शवदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरिएको पत्र महानगरलाई प्राप्त भएको भन्दै जनाउँदै विपद् शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव हुने, चौबिसै घण्टा जनशक्ति राखेर उपकरण तताउँदा खर्चिलो हुने, धुवाँ स्थानीय बस्तीमा जाँदा गुनासो बढेकोलगायत समस्या देखिएपछि बृहत् छलफल गरेरमात्र निर्णय लिने पक्षमा महानगरपालिका छ ।

महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले बोलपत्र आहवान गरेर शवदाहको जिम्मेवारी दिन लागिएको बताउनुभयो । महानगरले जारी गरेको बोलपत्रपछि एउटा निजी फार्मले प्रस्ताव पेस गरेको जनाउँदै उहाँले कुनै संस्थाले जिम्मेवारी स्वीकारेमा सहज हुने भएकाले सोहीअनुसार त्यस्तो संस्थाको खोजी भइरहेको बताउनुभयो ।

निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको थियो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको थियो । गृहमा दुईवटा शवदाह गर्ने उपकरण जडान गरिएको छ भने चार वटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरिएको जनाएको छ । देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट यहाँ शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । सहज रूपमा शवदाहस्थल सञ्चालन हुनसकेमा दाउराको समस्या र वर्षात्मा शवदाह गर्दा हुने समस्या समाधान हुनेछ । यसले बेवारिसे शवको अन्त्येष्टिका लागि पनि सहयोग पुग्ने स्थानीय बताउँछन् । 

कमेन्टहरु