अन्तिम चरणको वार्ताका लागि ट्रम्प र सीबिच पुन: भेटवार्ता


बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच चीनको उच्च राजनीतिक केन्द्र झोङनान्हाईमा महत्त्वपूर्ण भेटवार्ता सुरु भएको छ। ह्वाइट हाउस पुल रिपोर्टका अनुसार सुरक्षाको कडा प्रबन्धबिच भएको यो भेटको समाचार संकलनका लागि सीमित संख्यामा मात्र पत्रकारहरूलाई प्रवेश अनुमति दिइएको छ। राष्ट्रपति ट्रम्पको सवारीका लागि सडकहरू पूर्ण रूपमा खाली गरिएको थियो ।
चिनियाँ अधिकारीहरूले छलफलका विशिष्ट विषयहरूका बारेमा विस्तृत विवरण नदिए पनि दुवै राष्ट्रपतिबिच एकअर्काका चासोहरूलाई उचित रूपमा सम्बोधन गर्ने र विश्वव्यापी तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय बढाउने विषयमा महत्त्वपूर्ण सहमति भएको जानकारी दिएका छन्।
विशेष गरी इरानको विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै यो द्वन्द्व ‘कहिल्यै हुनु नपर्ने थियो’ र ‘यसलाई निरन्तरता दिनुपर्ने कुनै कारण छैन’ भनी उल्लेख गरे। उनले थपे, ‘यसको समाधान चाँडो खोज्नु अमेरिका र इरान दुवैका लागि मात्र नभई यस क्षेत्रका देशहरू र समग्र विश्वका लागि पनि फाइदाजनक छ।’






















