भारतमा पेट्रोल र डिजेल प्रतिलिटर ३ रुपैयाँले महँगियो


नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले वृद्धि भएको छ । मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ ।
त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ भारु पुगेको छ । यो नयाँ दर आजदेखि लागू भएको छ ।मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा आएको उतारचढावलाई मानिएको छ । इरान र अमेरिकाबिचको तनाव बढ्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा थियो, जुन अहिले बढेर १०० डलर पार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठुलो दबाबमा थिए । कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न मूल्यवृद्धिको कदम चालेका हुन् । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरह्यो भने आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।






















