समाज

सुनसरी सीमामा उच्च सतर्कता, बाहिनीपतिद्वारा स्थलगत अनुगमन

देवराजा यादव
२०८३ जेष्ठ १ | मध्यान्ह १२:०२ बजे

सुनसरी जिल्लाको सीमा सुरक्षा तथा तस्करी नियन्त्रणको अवस्थाबारे जानकारी लिन नं. १ बाहिनीका बाहिनीपति डिआईजी मनिष थापाले आज सीमा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले सुनसरीका प्रमुख सीमा नाका भन्टाबारी, श्रीपुर लगायतका क्षेत्रको निरीक्षण गरी वर्तमान सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा डिआईजी थापाले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई अवैध घुसपैठ तथा सीमा पार हुने अपराध नियन्त्रणमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो। विशेषगरी पछिल्लो समय सीमा नाकाबाट रोहिंग्या शरणार्थीहरू लुकिछिपी नेपाल प्रवेश गर्न सक्ने जोखिमप्रति सचेत रहँदै सुरक्षा सतर्कता थप बढाउन निर्देशन दिनुभयो।

उहाँले खुला सीमाको फाइदा उठाउँदै हातहतियार ओसारपसार, लागूऔषध तस्करी, मानव बेचबिखन तथा अन्य संगठित अपराधका गतिविधि हुन सक्ने सम्भावनाप्रति संवेदनशील रहन निर्देशन दिनुभयो। साथै भन्टाबारी र श्रीपुरजस्ता संवेदनशील नाकाहरूमा निगरानी बढाई शंकास्पद व्यक्तिको पहिचान, आवश्यक खानतलासी तथा कागजात जाँचलाई प्रभावकारी बनाउन जोड दिनुभयो।

डिआईजी थापाको भ्रमणपछि सुनसरीका सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच, संयुक्त गस्ती तथा निगरानी गतिविधिलाई थप प्रभावकारी बनाइएको छ।

कमेन्टहरु