कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति


मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ ।
मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गरे । उत्तर/दक्षिण जोड्ने कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको जनाइएको छ ।






















