२०० करोडको ठगी प्रकरण : ज्याकलिनले सरकारी साक्षी बन्ने निवेदन लिइन् फिर्ता


मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड रुपैयाँको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्नका लागि दिएको निवेदन मंगलबार दिल्लीको पटियाला हाउस कोर्टबाट फिर्ता लिएकी छन्। प्रवर्तन निर्देशनालय (ईडी) ले उनको उक्त निवेदनको कडा विरोध गरेपछि ज्याकलिन पछि हटेकी हुन्। जाँच एजेन्सीले ज्याकलिन यस मामलामा कुनै पीडित नभई अपराधको मुख्य लाभार्थी भएको दाबी गरेको छ।
सुकेश चन्द्रशेखरको आपराधिक पृष्ठभूमिबारे थाहा पाउँदा पाउँदै पनि ज्याकलिन उनीसँग निरन्तर सम्पर्कमा रहेको र अपराधको कमाइबाट महँगा उपहार र सेवा सुविधाहरू लिएको ईडीले खुलासा गरेको छ। अनुसन्धानका क्रममा ज्याकलिनले सही जानकारी नदिएको र पटक-पटक बयान बदलेको आरोप समेत एजेन्सीले लगाएको छ।
सुरुवाती चरणमा उनले नगद कारोबार, महँगा उपहार र बैंक खातामा पठाइएको रकमका बारेमा तथ्यहरू लुकाएको र प्रमाणहरूसँग सामना गराउँदा मात्र केही कुरा स्वीकार गरेको ईडीको दाबी छ। उनका बयानहरू अपूरो र विरोधाभासी रहेको जाँच एजेन्सीको निष्कर्ष छ।
यो पूरा मामला ठग सुकेश चन्द्रशेखरसँग जोडिएको छ, जसले र्यानब्याक्सीका पूर्व प्रमोटरहरू शिविंदर सिंह र मलविंदर सिंहकी श्रीमतीहरूबाट २०० करोड रुपैयाँ ठगेका थिए।
ज्याकलिनलाई यस मुद्दामा सप्लीमेन्टरी चार्जसिटमा आरोपी बनाइएको छ। यसअघि दिल्ली हाई कोर्ट र सुप्रीम कोर्टले पनि उनी विरुद्धको मुद्दा खारेज गर्न दिइएको याचिका अस्वीकार गरिसकेका छन्।






















