बिश्व

साउदी अरबले इरानमाथि गोप्य सैन्य आक्रमण गरेको दाबी

एजेन्सी
२०८३ बैशाख ३० | मध्यान्ह ०३:०१ बजे

जेद्दाह । इरान युद्धका क्रममा साउदी अरबले इरानविरुद्ध गोप्य रूपमा सैन्य आक्रमण गरेको दाबी सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै यस्तो जनाएको हो । 

रिपोर्टअनुसार साउदी हवाई सेनाले मार्च अन्त्यतिर इरानभित्र विभिन्न स्थानमा प्रतिआक्रमण गरेको थियो । ती आक्रमणहरू यसअघि सार्वजनिक गरिएका थिएनन् । स्रोतहरूका अनुसार यो कदम साउदी भूमिमा भएका इरानी आक्रमणको जवाफी कारबाहीका रूपमा गरिएको थियो ।

यदि दाबी सही ठहरिएमा यो साउदी अरबले प्रत्यक्ष रूपमा इरानी भूमिमा सैन्य कारबाही गरेको पहिलो ज्ञात घटना हुनेछ । यसले आफ्नो प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी विरुद्ध साउदी अरेबिया थप आक्रामक बन्दै गएको सङ्केत गरेको विश्लेषण गरिएको छ ।

रिपोर्टमा आक्रमणको लक्ष्य के थियो भन्ने स्पष्ट उल्लेख छैन । साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले प्रत्यक्ष रूपमा आक्रमण भएको पुष्टि नगरे पनि क्षेत्रीय तनाव कम गर्नुपर्ने आफ्नो पुरानो नीतिमा कायम रहेको बताएका छन् ।

यो युद्ध अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण सुरु गरेपछि चर्किएको बताइएको छ । त्यसपछि इरानले खाडी सहयोग परिषद्अन्तर्गतका सबै ६ राष्ट्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेको रिपोर्टमा उल्लेख छ । इरानले अमेरिकी सैन्य अड्डा, विमानस्थल, तेल पूर्वाधार र नागरिक क्षेत्रलाई समेत निशाना बनाएको तथा स्टेट अफ होर्मुज बन्द गरेर विश्व व्यापार प्रभावित पारेको जनाइएको छ ।

यसैबिच संयुक्त अरब इमिरेट्सले पनि इरानविरुद्ध सैन्य कारबाही गरेको दाबी गरिएको छ । यसले खाडी क्षेत्रका राष्ट्रहरू अब प्रतिरक्षात्मक अवस्थामा मात्र नभई प्रत्यक्ष जवाफी आक्रमणमा समेत उत्रिएको सङ्केत गरेको विश्लेषण गरिएको छ ।

यद्यपि, साउदी अरबले सार्वजनिक रूपमा तनाव बढ्न नदिन कूटनीतिक सम्पर्क कायम राखेको बताइएको छ । रिपोर्टअनुसार रियाद र तेहरानबिच राजदूतस्तरमा नियमित संवाद जारी छ । 

कमेन्टहरु