इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बेपत्ता २० हाइकरको खोजी तीव्र


जाकर्ता । इन्डोनेसियाको माउन्ट दुकोनोमा शुक्रबार बिहानको शक्तिशाली ज्वालामुखी विस्फोटपछि उद्धार कार्य तीव्र बनाइएको छ । मालुकु टापुस्थित यस सक्रिय ज्वालामुखीमा विस्फोट हुँदा २० जना पदयात्री फसेको जनाइएको छ ।
इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ः ४१ बजे भएको विस्फोटले करिब १० किलोमिटर (३३ हजार फिट) उचाइसम्म खरानीको विशाल मुस्लो आकाशमा फ्याँकेको थियो । निकायले हाल ज्वालामुखीलाई तीन तहको चेतावनी प्रणालीमध्ये दोस्रो तहमा राखेको छ, जसले उच्च सतर्कता आवश्यक रहेको सङ्केत गर्दछ ।
सन् २०२५ को मार्च अन्त्यदेखि हालसम्म यो ज्वालामुखी झन्डै २०० पटक विस्फोट भइसकेको बताइएको छ । डिसेम्बर २०२४ यता मुख्य क्रेटर वरपर ४ किलोमिटर क्षेत्रभित्र पर्यटक तथा आरोहीलाई नजान सिफारिस गरिएको थियो ।
स्थानीय प्रहरी प्रमुख एरलिक्सन पासारिबुका अनुसार दुई विदेशी र एक स्थानीय बासिन्दाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये दुई जना सिंगापुरका नागरिक रहेको जानकारी दिइएको छ भने स्थानीय व्यक्ति टर्नेटे सहरका बासिन्दा थिए । राष्ट्रिय विपद् व्यवस्थापन निकायले कम्तीमा पाँच जना घाइते भएको जनाएको छ ।
उद्धार तथा खोजी निकायले उद्धारकर्मीहरू स्ट्रेचर र सामग्री बोकेर पहाडतर्फ जाँदै गरेको तस्बिर सार्वजनिक गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार शुक्रबार साे क्षेत्रबाट आपत्कालीन एसओएस सङ्केत पनि प्राप्त भएको थियो ।
समाचार संस्था रोयटर्स र एएफपीका अनुसार ज्वालामुखी क्षेत्रमा रहेका २० हाइकरमध्ये ९ जना सिंगापुरका नागरिक थिए । उद्धार टोली अझै प्रभावित क्षेत्रमा पुग्ने प्रयासमा रहेको बताइएको छ ।






















