इजरायलले गाजामा जानाजान कुपोषणको सङ्कट निम्त्याएको छ : एमएसएफ


काठमाडाैँ । अन्तर्राष्ट्रिय आपतकालीन मानवीय चिकित्सा सेवा (एमएसएफ) ले इजरायलले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान सङ्कट निम्त्याएको बताएको छ । जसको कारण शिशु तथा गर्भवती र स्तनपान गराउने महिलाहरूमा नकरात्मक प्रभाव पारी जटिल कुपोषण संकट सिर्जना गरेको जनाइएको छ ।
गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको वितरणलाई अवरोध गर्ने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनले गत वर्ष गरेको हानि नोक्सानीको वारेमा पनि एमएसएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।
विश्लेषणले कुपोषित आमाहरूबाट जन्मेका शिशुहरूमा उच्च मृत्यु दर र गर्भपातलगाएतका समस्या देखाएको छ । इजरायलले अत्यावश्यक वस्तुहरूको प्रवाहमा नाकाबंदी र चिकित्सा सुविधाहरू लगायतमा पूर्वाधारमा आक्रमण जारी राखेका कारण यस्तो अवस्था सिर्जना भएको एमएसएफले जनाएको छ ।
असुरक्षा, विस्थापन, सहायतामा प्रतिबन्ध, खाना र चिकित्सा सेवामा सीमितताले मातृ शिशर स्वास्थ्यमा विनासकारी प्रभाव पारेको उल्लेख गर्दै एमएसएप विज्ञप्तिसमेत जारी गरेको छ ।
दुई वर्षको विनाशकारी द्वन्द्वपछि गत अक्टोबरदेखि युद्धविराम भए तापनि स्थिति अत्यन्त नाजुक रहेको पनि एमएसएफले चेतावनी दिइएको छ । यसैबिच एमएसएफले इजरायली अधिकारीहरूलाई गाजामा सहायता र आपूर्तिको निर्बाध प्रवेशलाई तुरुन्तै अनुमति दिन आह्वान गरेको छ ।
एमएसएफले गत जुन र जनवरीको बीचमा खान युनूस र गाजा शहरका अस्पतालहरूमा नवजात सघन स्याहार कक्षमा उपचार गराइरहेका २०० भन्दा बढी आमा र नवजात शिशुहरूबाट तथ्याङ्क सङ्कलन गरेको बताएको छ ।
विश्लेषणले आधाभन्दा बढी महिलाहरू गर्भावस्थाको कुनै न कुनै समयमा कुपोषणबाट प्रभावित भएको पत्ता लगाएको छ भने ती मध्ये एक चौथाइ अझै पनि कुपोषित अवस्थामा रहेको जनाइएको छ ।
कुपोषित आमाहरूबाट जन्मेका ९० प्रतिशत शिशुहरू समय अगावै जन्मेको र ८४ प्रतिशतको जन्मदै वजन कम भएको प्रतिवेदनले पत्ता लगाएको छ । कुपोषणबाट प्रभावित आमाहरूबाट जन्मेका शिशुहरूमा नवजात मृत्युदर कुपोषणबिना आमाहरूबाट जन्मेका शिशुहरूको तुलनामा दुई गुणा बढी भएको एमएसएफले जनाएको छ ।
एमएसएफले अक्टोबर २०२४ र डिसेम्बर २०२५ को बीचमा खान युनूसमा बाह्य रोगी उपचारात्मक आहार कार्यक्रममा भर्ना भएका छ महिना भन्दा कम उमेरका ५१३ जना शिशुहरूको तथ्याङ्कको आधारमा विश्लेषण गरेको जनाएको छ ।






















