बंगालमा बम प्रहार हुँदा भाजपाका पाँच कार्यकर्ता घाइते


काठमाडौँ । भारतको पश्चिम बंगालस्थित परगना जिल्लाको पानीहाटी क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा) कार्यकर्ताहरूमाथि बम प्रहार भएको छ । बम प्रहारबाट कम्तीमा पाँच जना भाजपा कार्यकर्ता घाइते भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।
लामो समयदेखि शुभेन्दु अधिकारीका निजी सहायक रहेका चन्द्रनाथ रथको हत्या भएको केही घण्टापछि यो आक्रमण भएको प्रहरीले जनाएको छ । पानीहाटी नगरपालिकाको वार्ड नम्बर २ को दत्ता रोडमा बुधबार घटना भएको हो ।केही भाजपा कार्यकर्ताहरू जनतासँग कुरा गरिरहेका बेला केही व्यक्तिहरू मोटरसाइकलमा आएर गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यहाँ उपस्थित भाजपा कार्यकर्ताहरूमाथि चार जनाले बम प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लगातार तीन वटा बम प्रहार भएपछि उनीहरू भागेका प्रहरीले जनाएको छ।
घाइतेहरूलाई गम्भीर अवस्थामा आरजी कर मेडिकल कलेज र अस्पताल लगिएको छ । बम प्रहारको खबर पाएपछि खरदाह प्रहरी चौकीका अधिकारीहरू घटनास्थलमा पुगेका थिए । खरदाह प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । क्षेत्रको सीसीटीभी फुटेज जाँच भइरहेको छ । दोषीहरूको खोजीकार्य तीव्र पारिएको छ ।
मध्यमग्राम घटनाप्रति प्रतिक्रिया दिँदै शुभेन्दु अधिकारीले विगत १५ वर्षदेखि प्रतिशोधको राजनीति चलिरहेको बताए । यो १५ वर्षदेखि ‘महा जंगल राज’को परिणाम हो । हिजो राति खरदाहमा बम विस्फोट भयो र बसिरहाटमा भाजपा कार्यकर्ताहरूमाथि गोली चलाइयो । हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन,’ उनले भने ।
भाजपाले तृणमूल कंग्रेसलाई मध्यमग्रामबाट करिब ७ किलोमिटर टाढा पानीहाटीमा बम विस्फोट गराएको आरोप लगाएको छ, जहाँ अधिकारीका निजी सहायकलाई घर जाँदै गर्दा आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए।
तृणमूल कंग्रेससँग आवद्धहरूले बम विस्फोट गराएको आरोप छ । यद्यपि, तृणमूल कंग्रेसले घटनाको बारेमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन। मे ४ मा पश्चिम बंगाल विधान सभा चुनावको नतिजा घोषणा भएदेखि यहाँ हिंसाका रिपोर्टहरू आइरहेका छन्।






















