प्रबास

गोप्य स्वास्थ्य अभिलेख बुझाउन अदालतद्वारा नेतन्याहुलाई आदेश

एजेन्सी
२०८३ बैशाख २४ | मध्यान्ह ०४:०१ बजे

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध दायर मानहानी मुद्दाको सुनुवाइका क्रममा इजरायलको केन्द्रीय जिल्ला अदालतले प्रधानमन्त्री नेतन्याहूलाई आफ्नो स्वास्थ्यसम्बन्धी गोप्य अभिलेख अदालतमा पेस गर्न आदेश दिएको छ ।अदालतले विशेष रूपमा हालै उपचार गरिएको प्रोस्टेट क्यान्सर कहिले पत्ता लागेको थियो भन्ने विवरण पनि बुझाउन भनेको छ । 

न्यायाधीश मेनकेम मिज्राचीले उक्त आदेश पत्रकारहरु उरी मिसगाभ, बेन क्यास्पिट तथा नेतन्याहूका आलोचक गोनेन बेन यित्जाकविरुद्ध नेतन्याहूले दायर गरेको मानहानि मुद्दाको सन्दर्भमा दिएका हुन् । ती तीनजनाले सन् २०२४ मा सार्वजनिक रूपमा नेतन्याहू गम्भीर बिरामी रहेको दाबी गरेका थिए, जसलाई लिएर प्रधानमन्त्रीले कानुनी कारबाही अघि बढाएका थिए ।

यसै साता पत्रकार मिस्गाभले अदालतसमक्ष नेतन्याहूको चिकित्सकीय टोलीका प्रमुख डा. त्ज्भी बर्काेभिट्ज तथा उनको प्रोस्टेट क्यान्सर उपचार टोलीका प्रमुख प्रोफेसर एरोन पोपोभ्जरलाई अदालतमा साक्षीका रूपमा बोलाउन माग गरेका थिए । 

गत महिना नेतन्याहूले पहिलो पटक आफूलाई प्रोस्टेट क्यान्सर भएको र उपचार गराइएको सार्वजनिक गरेका थिए । अदालतले नेतन्याहूलाई अद्यावधिक स्वास्थ्य अभिलेख अदालतमा बुझाउन निर्देशन दिएको छ । ती कागजातहरू गोप्य राखिने र सार्वजनिक नगरिने जनाइएको छ । साथै न्यायाधीशले डा. बेरकोभिट्जलाई हस्ताक्षरित पत्रसमेत बुझाउन आदेश दिएका छन्, जसमा नेतन्याहूको वर्तमान स्वास्थ्य अवस्था र उनको प्रोस्टेट क्यान्सर पहिलो पटक पत्ता लागेको समय समावेश हुनुपर्ने उल्लेख छ । अदालतले नेतन्याहूलाई मे १३ भित्र स्वास्थ्य अभिलेख बुझाउन समय दिएको छ ।

न्यायाधीश मिज्राचीले नेतन्याहू स्वयंले अदालतमा बयान दिएपछि मात्रै डा. बेरकोभिट्ज र प्रोफेसर पोपोभ्ट्जरलाई साक्षीका रूपमा बोलाउने वा नबोलाउने निर्णय गरिने पनि बताएका छन् । 

कमेन्टहरु