आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा


काठमाडौँ, वैशाख २४। वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।वाग्मती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।
सोहीअनुसार यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको हो । यस अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र–दत्तात्रेय–कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म याली गरिने पर्यटन कार्यालय, काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले बताउनुभयो । यालीपछि मूल समारोहअन्तर्गत लन्चा फल्चा भत्क्यापाटीमा विशेष कार्यक्रम गर्ने गरी तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो ।यस अवसरमा आज वाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
















