बर्दघाटको विकासका लागि साझा सङ्कल्प: “विकासमा सबै तहका जनप्रतिनिधि एकजुट हुनुको विकल्प छैन”


पश्चिम नवलपरासी, बैशाख २४ गते । सबै तहका जनप्रतिनिधिहरू राजनीतिक आस्थाभन्दा माथि उठेर विकास निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिइएको छ। बिहीबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा प्रतिनिधिसभा सदस्य विक्रम खनालसँग नगरको समग्र विकासका लागि आयोजित छलफल कार्यक्रममा यस्तो जोड दिइएको हो।’
नगरको विकासका लागि संघीय र स्थानीय तहबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा सहभागीहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले आफू जनताको सेवक भएको र नगरको विकासका लागि जुनसुकै परिस्थितिमा पनि साथ रहने बताउनुभयो। उहाँले भन्नुभयो, “नीतिगत जटिलता हटाउन र ठूला पूर्वाधारका योजनाहरूमा संघीय सरकारबाट आवश्यक बजेट र सहजीकरण गराउन म हरदम तयार छु।”
उहाँले विशेष गरी भुताहा–संसारकोट–दुम्किबास सडक निर्माणलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको विगत, वर्तमान र आगामी योजनाहरूको खाका प्रस्तुत गर्दै सबैको साथ भएमा मात्र विकासले गति लिने उल्लेख गर्नुभयो । उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरको समग्र विकासको चित्र प्रस्तुत गर्दै शिक्षा र स्वास्थ्यलाई नगरको मेरुदण्डको रूपमा अघि बढाउने बताउनुभयो।
तर, विकासको गतिमा रहेका व्यवधानबारे प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भन्नुभयो,, “निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण विकास निर्माणका कामहरू प्रभावित भएका छन्, यसलाई समाधान गर्न माथिल्लो तहको सहयोग आवश्यक छ।”
नगरको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार मान्दै बर्दघाटमा रहेको बुद्धमंगल क्षेत्रलाई लुम्बिनी विकास कोष मातहत ल्याउनुपर्ने माग अघि सारिएको छ। यस्तै, वडा नं. ७ का अध्यक्ष ध्रुव थारुले वडामा देखिएको नक्कली कीर्ते कागजातका आधारमा बनेका पुर्जा बदर गरी वास्तविक भूमिहीनलाई न्याय दिनुपर्नेमा सांसदको ध्यानाकर्षण गराउनुभयो।
वडा तहदेखि केन्द्रसम्मका जनप्रतिनिधिहरू एउटै उद्देश्यका साथ अघि नबढेसम्म नगरको दिगो विकास असम्भव रहेको निष्कर्ष निकालियो । स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्यागउने र केन्द्रको योजनालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न सबै तहका प्रतिनिधिहरू एक ढिक्का भएर जुट्नुपर्ने सन्देश यस कार्यक्रमले दिएको छ।
तस्वीर – नगरको समग्र विकासका लागि आयोजित छलफल कार्यक्रम ।

























