बिश्व

इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दाबी

एजेन्सी
२०८३ बैशाख २४ | बिहान ११:०१ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध निकै छिट्टै समाप्त हुने दाबी गरेका छन्।जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज र इरानी आणविक कार्यक्रमको विषयमा सम्झौता गर्ने प्रयास गरिरहेको खुलासा गरेका हुन्।

आफ्नो कदमको बचाउ गर्दै ट्रम्पले भने, ‘अहिले जे भइरहेको छ, त्यसलाई हेर्नुभयो भने हामीले निकै महत्त्वपूर्ण कारणका लागि यो कदम चालेका हौँ भन्ने बुझ्नुहुनेछ। हामी उनीहरूलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिन सक्दैनौँ। अधिकांश मानिसहरूलाई थाहा छ कि हामीले सही गरिरहेका छौँ र यो युद्ध निकै चाँडै समाप्त हुनेछ।’

दुई देशबीच जारी तनाबका बिच मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानमार्फत इरानले आज बिहीबार अमेरिकी प्रस्तावमाथि आफ्नो आधिकारिक जवाफ पठाउने तयारी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले पठाएको प्रस्तावमाथि आफ्नो राय पाकिस्तानी मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरिने जानकारी दिएका छन्।

सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इरान दुवै पक्ष यतिबेला युद्ध अन्त्य गर्नका लागि एउटा सहमतिमा पुग्ने दिशामा अघि बढिरहेका छन्। यद्यपि, इरानले भने अहिले नै अमेरिकाको प्रस्ताव पूर्ण रूपमा स्वीकार गरिनसकेको र यसका विभिन्न बुँदाहरूमाथि आन्तरिक छलफल र विचार गरिरहेको जनाएको छ।

कमेन्टहरु