सीएनएनका संस्थापक तथा २४ घण्टे आधुनिक समाचार संस्कृतिका जन्मदाता टेड टर्नरको निधन


न्युयोर्क । विश्वप्रसिद्ध समाचार च्यानल केबल न्यूज नेटवर्क (सीएनएन) का संस्थापक एवं सञ्चार उद्यमी टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ।
टर्नरले सीएनएन च्यानलको स्थापना गरेर संसारभर चौबीसै घण्टा समाचार प्रसारण गर्ने आधुनिक समाचार संस्कृतिको सुरुआत गरेका थिए।टर्नरले सन् १९८० मा सीएनएनलाई विश्वकै पहिलो निरन्तर समाचार प्रसारण गर्ने पहिलो समर्पित च्यानलका रूपमा सञ्चालनमा ल्याएका थिए, जुन छोटो समयमै सञ्चार जगत्कै एउटा महत्त्वपूर्ण र प्रभावशाली हिस्सा बन्न सफल भयो।
सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष मार्क थम्पसनले टर्नरको निधनमा गहिरो दुःख व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका छन्। थम्पसनले टर्नरलाई स्मरण गर्दै भनेका छन्, ‘टेड एक अत्यन्तै सक्रिय र समर्पित प्रणेता थिए। उनी निडर र साहसी हुनुका साथै सधैँ आफ्नो अन्तरआत्माको आवाज सुन्न र आफ्ना निर्णयहरूमा विश्वास गर्न तयार रहन्थे।’
उनले टर्नर सीएनएनको मार्गदर्शक आत्मा रहेको र सधैँ रहने भन्दै उनी यस्तो विशाल व्यक्तित्व थिए जसकै काँधमा उभिएर आज सीएनएन यो स्थानमा आइपुगेको बताएका छन्
सुरुआती दिनहरूमा सीएनएनले बजारमा स्थापित हुन निकै ठुलो संघर्ष गर्नु परेको थियो। तर सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि भएको घातक हमला र सन् १९८६ को च्यालेन्जर स्पेस सटल दुर्घटना जस्ता ठुला घटनाहरूको तीव्र र निरन्तर प्रत्यक्ष कभरेज गरेर यसले आफ्नो प्रभावकारिता र महत्त्व प्रमाणित गर्यो।
विशेष गरी सन् १९९०-१९९१ को खाडी युद्धका बेला युद्धमैदानबाट निरन्तर ताजा अपडेटहरू प्रसारण गरेर यस नेटवर्कले विश्वभर आफ्नो छुट्टै र बलियो पहिचान स्थापित गरेको थियो। टर्नरको यही दुरदर्शी सोचका कारण आज संसारभर चौबीसै घण्टा समाचार हेर्ने संस्कृतिको विकास भएको हो।






















