स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौंः ट्रम्प


वासिङ्टन डीसी, वैशाख २१।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सक्रिय हुने बताएका छन् । सोमबार एक ट्याङ्करमाथि अज्ञात प्रोजेक्टाइल प्रहार भएको खबर सार्वजनिक भएसँगै उनले सो कुरा बताएका हुन् ।
यसको उद्देश्य व्यावसायिक जहाजहरूको आवागमन स्वतन्त्रता पुनर्स्थापित गर्नु रहेको बताइएको छ । ट्रम्पको भनाइ सार्वजनिक भएको केही समयपछि बेलायती समुद्री व्यापार सञ्चालन ९यूकेएमटीओ० ले एउटा ट्याङ्करमाथि अज्ञात प्रहार भएको पुष्टि गरेको छ । उक्त घटना संयुक्त अरब इमिरेट्सको फुजैराह सहरबाट करिब ७८ नटिकल माइल उत्तरमा भएको हो, जहाँ सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।
पछिल्ला दुई महिनादेखि इरानले स्ट्रेट अफ होर्मुजमा आफ्ना जहाज बाहेक अन्य जहाजहरूको आवागमन लगभग रोक्दै आएको छ, जसका कारण विश्वमा ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको छ । केही जहाजहरूलाई लक्षित गरी गोली प्रहार गरिएको र केहीलाई कब्जामा समेत लिइएको रिपोर्ट छ ।
यसैबिच, अमेरिकाले पनि इरानका बन्दरगाहबाट आउने जहाजहरूमाथि नाकाबन्दी लागू गरेको छ । अमेरिका अन्य देशहरूसँग मिलेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासमा रहेको छ ।
ट्रम्पले अमेरिकी अपरेसनमा कुनै हस्तक्षेप भए कडा रूपमा प्रतिकार गरिने चेतावनी दिएका छन् । अर्कोतर्फ, इरानले शान्ति वार्ताका लागि अमेरिकाको प्रतिक्रिया प्राप्त भएको जनाएको छ, यद्यपि वार्ताको अवस्था स्पष्ट छैन ।






















