प्रबास

‘तुम्बाड २’ मा आलिया भट्टको इन्ट्री

एजेन्सी
२०८३ बैशाख २१ | बिहान ०९:०१ बजे

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो करियरको सबैभन्दा सुखद र व्यस्त समयबाट गुज्रिरहेकी छिन्। एकपछि अर्को ठूला प्रोजेक्टमा अनुबन्धित भइरहेकी आलिया अब कल्ट क्लासिक फिल्म ‘तुम्बाड’ को सिक्वेलमा देखिने खबरले सिने जगतमा नयाँ तरंग पैदा गरेको छ। ‘तुम्बाड २’ मा आलियाले एउटा विशेष भूमिका निभाउन लागेकी हुन्, जसलाई फिल्मको कथाको टर्निङ पोइन्ट मानिएको छ।

आलियाले मुम्बईको मड आइल्याण्डमा यस फिल्मका लागि दुई दिनको सुटिङ समेत पूरा गरिसकेकी छिन्। उनको भूमिका छोटो अर्थात् क्यामियो भनिए पनि फिल्मको रहस्यमयी कथालाई अगाडि बढाउन यो पात्र निकै महत्त्वपूर्ण रहने निर्माण पक्षको दाबी छ। कम स्क्रिन टाइममा पनि दर्शकमा गहिरो छाप छोड्न सक्ने क्षमताका कारण आलियालाई यो भूमिकाका लागि छनोट गरिएको हो।

आलियाको व्यस्तता यतिमा मात्र सीमित छैन। उनी सञ्जय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘लभ एण्ड वार’ मा पहिलो पटक जाँबाज सैनिकको भूमिकामा देखिँदैछिन्। रणवीर कपुर र विक्की कौशलको मुख्य भूमिका रहेको यस फिल्ममा आलियाको सशक्त अवतार रहनेछ। 

मुम्बईको गोरेगाउँमा विशाल सेट बनाएर फिल्मको सुटिङ भइरहेको छ भने केही महत्त्वपूर्ण युद्धका दृश्यहरू मध्य प्रदेशको महूस्थित बेलायतीकालीन आर्मी बेस क्याम्पमा खिचिनेछ। भन्सालीले यस फिल्मलाई करिब सवा तीन घण्टा लामो बनाउने तयारी गरेका छन्।

यसका साथै आलियाको अर्को प्रतीक्षित फिल्म ‘अल्फा’ पनि चर्चाको केन्द्रमा छ। यस फिल्ममा उनी जासुसको भूमिकामा एक्सन अवतारमा देखिनेछिन्। ‘अल्फा’ का लागि लिएको कडा एक्सन ट्रेनिङले उनलाई ‘लभ एण्ड वार’ को सैनिक चरित्र निभाउन समेत निकै सहज भएको बताइएको छ। हाल ‘अल्फा’ को सुटिङ अन्तिम चरणमा पुगेको छ।

 

कमेन्टहरु