क्रुज जहाजमा ‘हान्टा भाइरस’को प्रकोप, तीन जनाको मृत्यु


जोहानेसबर्ग । आन्ध्र महासागरमा यात्रा गरिरहेको एक विलासी क्रुज जहाजमा मुसाबाट सर्ने दुर्लभ ‘हान्टा भाइरस’ फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ। अर्जेन्टिनाको उशुआयाबाट केप भर्डका लागि प्रस्थान गरेको ‘एमभी होन्डियस’ नामक जहाजमा यो घातक भाइरसको संक्रमण देखिएको हो।
दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेले आईसीयूमा उपचाररत बिरामीमा हान्टा भाइरस पोजेटिभ देखिएको पुष्टि गरेका छन्। मृतकहरूमा एक दम्पती समेत रहेका छन्। सुरुमा ७० वर्षीय पुरुषमा लक्षण देखिएको र उनको जहाजभित्रै मृत्यु भएको थियो। उनको शव अहिले बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ।
उनकी ६९ वर्षीया श्रीमतीलाई उपचारका लागि दक्षिण अफ्रिका लगिएको भए पनि अस्पतालमै उनको निधन भयो। आईसीयूमा उपचाररत अर्का बिरामी ६९ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ।
हान्टा भाइरस मुसाको दिसा, पिसाब वा र्यालको माध्यमबाट मानिसमा सर्ने गर्दछ। यसले कडा खालको श्वासप्रश्वास समस्या र रक्तस्राव सहितको ज्वरो निम्त्याउने गर्दछ, जुन समयमै उपचार नभए ज्यानमारा सिद्ध हुन्छ।
अहिले जहाजमा रहेका अन्य यात्रु र चालक दलका सदस्यहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। डब्लुएचओले विभिन्न देशहरूसँग समन्वय गरी लक्षण देखिएका अन्य दुई यात्रुलाई उद्धार गर्ने तयारी थालेको छ। स्वास्थ्य अधिकारीहरूले जहाजमा मुसाको उपस्थिति र भाइरसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेका छन्।






















