रूसको प्रिमोर्स्क बन्दरगाहमा ड्रोन आक्रमण


मस्को । युक्रेनले रूसका विभिन्न लक्ष्यहरूमा ड्रोन आक्रमणको श्रृंखला सुरु गर्दा बाल्टिक सागरस्थित प्रिमोस्र्क बन्दरगाहमा आगलागी भएको रूसी अधिकारीहरूले बताएका छन् । लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्ज्याण्डर ड्रोज्डेन्कोका अनुसार आक्रमणपछि बन्दरगाहमा अस्थायी रूपमा आगो लागेको थियो, तर पछि नियन्त्रणमा लिइएको छ ।
गभर्नरका अनुसार रातभरि लेनिनग्राद क्षेत्रमा ६० भन्दा बढी ड्रोन खसालिएको थियो । प्रिमोस्र्क रूसको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो, जसले दैनिक करिब १० लाख ब्यारेल तेल आपूर्ति गर्ने क्षमता राख्छ । आक्रमणपछि तेल चुहावट नभएको र अवस्था नियन्त्रणमा रहेको बताइएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको कालो सागरस्थित नोभोरोसियस्क बन्दरगाह प्रवेश क्षेत्रमा रहेका दुई छद्म नाम धारी ट्यांकरहरूमा पनि आक्रमण गरिएको बताएका छन् । ती ट्यांकरहरू तेल ढुवानीमा प्रयोग हुँदै आएको उल्लेख गर्दै उनले युक्रेनले समुद्र, आकाश र जमिन तीनै क्षेत्रमा आफ्नो लामो दूरीको आक्रमण क्षमता थप सुदृढ गर्ने बताएका छन् ।

















