समाज

प्रचण्डलाई फूलबारीको माली बनिदिन जेनजीको आग्रह

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०३:११ बजे

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति गगन थापासहित पुराना दलका अधिकांशले निर्वाचनमा हार व्यहोर्ने परिस्थिति सिर्जना भएपछि जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सदनको रक्षा गरिदिन आग्रह गरेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार पुराना दलका नेतृत्वमध्ये प्रचण्ड मात्र विजयी भएपछि जेनजी अभियन्ताहरुले नयाँ सांसदलाई संसदीय अभ्यास सिकाइदिने विश्वास व्यक्त गरेका हुन् । 

जेनजी फ्रन्ट नेपालका अगुवा युजन राजभण्डारीले अबको संसदलाई अभिभावकत्व र नयाँ दिशा दिने जिम्मेवारी प्रचण्डको काँधमा आएको बताएका छन् । राजनीतिमा उदाएका नयाँ अनुहारलाई प्रचण्डले लोकतन्त्रका सुन्दर फूल भनेको सन्दर्भ औँल्याउँदै उनले त्यसको माली बनेर बगैँचाको हेरचाह गरिदिन आग्रह गरेका हुन् ।

‘हामीलाई स्मरण छ, तपाई एकपटक संसदको रोष्ट्रमबाट नयाँ उदाएका व्यक्तिहरुलाई लोकतन्त्रको फूलबारीमा फुलेका नयाँ फूलको रुपमा चित्रित गर्नुभएको थियो’, युजनले भनेका छन्, ‘अब तपाई त्यही फूलबारीको माली हुनुहुन्छ, त्यसैले अहिले फक्रिदै गरेका ती नयाँ फूलहरुलाई संरक्षण गर्ने, तिनीहरूको सम्भावनालाई प्रोत्साहन गर्ने र समग्र फूलबारीलाई जीवन्त, समावेशी र सुन्दर बनाइराख्ने ऐतिहासिक जिम्मेवारी तपाईंको काँधमा आएको छ।’

अबको सदनमा रास्वपाका अनुहार धेरै देखिने भए पनि उनीहरुलाई राजनीतिक संस्कार सिकाउने जिम्मेवारी पनि प्रचण्डकै रहेको उनको निचोड छ । अघि थपेका छन्, ‘आशा छ, तपाईंले त्यो भावनालाई व्यवहारमा उतार्दै राजनीतिक संस्कारलाई अझ परिपक्व बनाउने नेतृत्व गर्नुहुनेछ।‘

कमेन्टहरु