Opens in a new tab

अपराध

सिराहामा गाँजा तस्करीविरुद्ध सशस्त्र प्रहरीको सफलता. ११ क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रदिप सिंह
२०८३ अशोज १५ | बिहान ०८:०६ बजे

लहान, असोज १५ । ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा र दुईवटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको २९ जनाको टोलीले बुधबार राति करिब १२ः३६ बजे बा १४ च २९४ नम्बरको फुलबडी बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो।

गणका प्रमुख सुमन जंग थापाका अनुसार दुवै सवारीसाधनमा लैजाँदै गरिएको २६ बोरा गाँजा बरामद भएको छ। नापतौल गर्दा गाँजाको कुल तौल १ हजार १०२ किलो ६५५ ग्राम अर्थात् ११ क्विन्टलभन्दा बढी रहेको जनाइएको छ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएको उनले बताएका छन्। बरामद बोलेरो, मोटरसाइकल र गाँजा नं. ७ गण हेडक्वार्टर सिरहामा ल्याई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्टहरु